रुपन्देही ।
लुम्बिनी बौद्ध विश्वविद्यालयका विद्यार्थीहरु चीनको नानहाई बौद्ध एकडेमी, चीनमा ग्रेजुएट भएका छन् । लुम्बिनी बौद्ध विश्वविद्यालय र नानहाई बौद्ध एकेडेमी चीनबीच दुई जोड दुई (टुप्लस टु) सम्झौता अन्तर्गत विश्वविद्यालयका ३४ जना विद्यार्थी नानहाई अध्ययनका लागि पुगेका थिए ।
स्नातक तहमा ट्राभल एण्ड टुरिजम विषय अध्ययन गरिरहेका विद्यार्थीहरुमध्ये पहिलो पटक ३४ जना विद्यार्थी चीन पुगेका हुन् । उनीहरुले अध्ययन सकेको अवसरमा नानहाईले ग्राजुएसन समारोह आयोजना गरेको थियो । चार वर्षे कोर्ष अन्तर्गत पहिलो चरणमा तीन वर्ष लुम्बिनीमा अध्ययन गरेका विद्यार्थीहरु एक वर्ष अध्ययनका लागि चीनको नानहाई एकेडेमीमा पुगेका हुन् ।
केन्द्रीय क्याम्पस लुम्बिनी र सिटी क्याम्पस बुटवलका विद्यार्थीहरुले दुई सेमेष्टरको कक्षा सकेका छन् । उनीहरुको ग्रेजुएट समारोहमा नानहाईका अध्यक्ष मास्टर इनसुन, लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. सुबर्णलाल बज्राचार्य, रजिष्ट्रार डा. तिलकराम आचार्यसहितको सहभागिता रहेको थियो ।








