विश्वका सबैभन्दा महँगा फुटबलर हुन्, पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो । म्यानचेस्टर युनाइटेडसँगको सम्झौता रद्द गरेर साउदी हानिएका रोनाल्डो महँगो पारिश्रमिकमा अल नासरमा अनुबन्ध भएका थिए । उमेरले ४० टेक्नै लागेका रोनाल्डोलाई अल नासरले सन् २०२६ सम्म क्लबमै राख्ने गरी तयारी पनि थालेको छ ।
रोनाल्डो पनि सन् २०२६ को विश्वकप फुटबल खलेर अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिने सोचमा छन् । सन् २०२६ को विश्वकप खेल्ने रोनाल्डोको चाहनालाई साउदी प्रो लिग क्लब अल नासर सहयोगी बन्न चाहन्छ । नबनोस् पनि कसरी, रोनाल्डो अल नासरका गोल मेसिन नै हुन् । दुई सिजन अल नासरमा बिताइसके पनि रोनाल्डोले उपाधि त उचाल्न सकेका छैनन्, तर टिमबाट सबैभन्दा बढी गोल भने गरिरहेका छन् ।
गत सिजन अल नासर प्रो लिगको उपविजेतामै सीमित बन्यो । तर, रोनाल्डो लिगमा ३५ गोल गर्दै टप स्कोरर बने । उनलाई पछ्याएका अल हिलालका एलेक्सान्डर मिट्रोभिकले २८ गोल गरेका थिए । बुढ्यौलीले छोइसके पनि रोनाल्डोले त्यसको छनक भने पर्न दिएका छैनन् । अझै पनि रोनाल्डो पूरै ९० मिनेट मैदानमा बिताउन चाहन्छन् र बिताइरहेका पनि छन् । तिनै विश्वकै सबैभन्दा महँगा फुटबलरले साउदी प्रो लिगमा सबैभन्दा बढी पारिश्रमिक त पाउँछन् नै ।
प्रो लिगमा रोनाल्डोको तलब ब्राजिलियन स्टार खेलाडी नेमार र फ्रान्सका करिम बेन्जेमाको भन्दा दोब्बर छ । प्रो लिगमा सबैभन्दा बढी नाम चलेका खेलाडीका रूपमा रोनाल्डो अनुबन्ध भएका थिए । त्यसपछि रोनाल्डोलाई पछ्याउँदै रियल मड्रिडकै पूर्वखेलाडी करिम बेन्जेमा र पीएसजीबाट नेमार आइपुगेका हुन् ।
सन् २०२४-२५ सिजनअघिको सूचीअनुसार, रोनाल्डो साउदी प्रो लिगका सबैभन्दा बढी पारिश्रमिक पाउने खेलाडीका रूपमा रहेका छन् । रियल मड्रिडका कीर्तिमानी खेलाडी रोनाल्डोले साउदी क्लब अल नासरबाट वार्षिक २०० मिलियन युरो पारिश्रमिकबापत बुझ्छन् । साउदी लिगमा रोनाल्डोपछि बढी पारिश्रमिक पाउने खेलाडी हुन्, अल इतिहादका करिम बेन्जेमा र अल हिलालका नेमार ।
नेमार र बेन्जेमाले रोनाल्डोको भन्दा आधा कम अर्थात् १०० मिलियन युरो पारिश्रमिक पाउँछन् । त्यसपछिका अन्य खेलाडीले भने नेमार र बेन्जिमाको भन्दा आधा कम पारिश्रमिक पाउँछन् । साउदी प्रो लिगका चौथो महँगा खेलाडी हुन्, अल हिलालका रियाद महरेज । महरेजले ५२.५ मिलियन युरो पारिश्रमिक पाउँछन् । पाँचौँ नम्बरमा छन्, सेनेगलका स्टार साडियो माने । रोनाल्डोकै क्लब अल नासरबाट खेलिरहेका मानेले वार्षिक ४० मिलियन युरो पारिश्रमिक पाउँछन् ।
यस्तै, छैटौँमा अल हिलालका कालिडौ कौलीबलीले ३४.७ मिलियन युरो, सातौँमा अल हिलालकै अलेक्जेन्डर मिट्रोभिक, आठौँमा अल हिलालकै सर्गेज मिलिनकोभिक साविक र नवौँमा अल इतिहादका एनगोलो कान्टेले समान २५ मिलियन युरो वार्षिक पारिश्रमिक पाउँछन् । प्रो लिगमा सर्वाधिक पारिश्रमिक पाउने शीर्ष १० को सूचीमा अटाएका अल नासरका आयमेरिक लापोर्टेले २४.५ मिलियन युरो पारिश्रमिक पाउँछन् ।
स्टार खेलाडीको अन्तिम गन्तव्य साउदी ?
सन् २०२२ को फिफा विश्वकपपछि साउदी प्रो लिगमा स्टार खेलाडीको प्रमुख गन्तव्यस्थल बनेको छ । रोनाल्डोको आगमनपछि बेन्जेमा, नेमार, साडियो माने र रियाद महरेजजस्ता स्टार खेलाडीहरू साउदी पुगेका हुन् । पछिल्ला रिपोर्टअनुसार इङ्लिस प्रिमियर लिगका सुपरस्टारहरू कासेमिरो, एडरसन, एलिसन बेकरलगायतका साउदी आउन वार्तामा छन् ।








