काठमाडौँ ।
नेपाली टेबलटेनिस खेलाडी स्यान्टु श्रेष्ठ शनिबार पेरिस ओलम्पिकमा पराजित भएका छन् ।
पुरुष एकलका प्रतिस्पर्धी स्यान्टुले प्रारम्भिक चरणको खेलमा उनी सेनेगलका इब्राहिमा डायवसँग पराजित भएका हुन् । स्यान्टु ४–० को सेटमा पराजित भए । उनले पहिलो सेटमा कडा टक्कर दिएका थिए । १२–१० मा पहिलो सेट सुम्पेका स्यान्टुले त्यसपछि लगातार ११–५, ११–४, ११–५ ले सेट गुमाएका थिए ।
यो खेल जितेर डायव राउन्ड अफ ६४ भित्र प्रवेश गरेका छन् । फ्रान्समै जन्मेका डायवले जुनियरस्तरमा फ्रान्सबाटै खेलेका थिए । उनी सेनेगली पिता र मालियन आमाका सन्तान हुन् । ३१ वर्षे उनले १३ औं अफ्रिकन गेम्स २०२३ मा कांस्य पदक जितेका थिए ।
अघिल्लो दिन उद्घाटन समारोहको मार्चपासमा नेपालको झन्डा स्यान्टु र जुडोकी मनिता श्रेष्ठ प्रधानले संयुक्त रूपमा बोक्न थिए ।
स्यान्टु दक्षिण एसियाली छनोट प्रतियोगिता जित्दै ओलम्पिक पुगेका हुन् । ओलम्पिकमा नेपाली टेबलटेनिस पहिलोपल्ट खेलेको हो । चार पटकका राष्ट्रिय च्याम्पियन स्यान्टु १३ औं दक्षिण एसियाली खेलकुदका पदक विजेता पनि हुन् ।








