‘कछुवा गति’ मा अगाडी बढिरहेको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको म्याद तेस्रो पटक थप गर्ने निर्णय भएको छ ।
सडक विभागका अनुसार आयोजनाको म्याद एक वर्ष थप गर्ने निर्णय भएको हो । तर, यस पटक सर्तसहित म्याद थपको निर्णय भएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले जानकारी दिए ।
८ साउनमा आयोजनाको म्याद सकिएको थियो । यस पटक निर्माण कम्पनीले दिएको तालिका अनुसार काम नभए जुनसुकै बेला ठेक्का तोड्न सक्ने सर्तसहित अन्तिम पटकका लागि म्याद थपको निर्णय भएको उनले बताए ।
आयोजनाले दुई वर्ष म्याद थपका लागि प्रस्ताव गरे पनि विभागले एक वर्षका लागि, त्यो पनि अन्तिम पटक म्याद थप गर्न सकिने जानकारी निर्माण कम्पनीलाई गराइएको उनको भनाइ छ ।
यो आयोजनामा सरकारले सुरुको अवधिपछि यो तेस्रो पटक म्याद थप भएको हो । तर, आयोजनाको गति भने निकै सुस्त छ । आयोजना निर्देशक चुडाराज ढकालका अनुसार आर्थिक वर्ष २०८०/८१ सम्म नारायणघाट–बुटवल सडककोे भौतिक प्रगति ५२.५३ प्रतिशतमात्र छ ।