पाल्पा ।
जिल्लाका विभिन्न स्थानमा नक्कली गरगहना देखाएर ठगी गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरु पाल्पा तिनाउ गाउँपालिका–३, झुम्साका ६३ वर्षीय चुरामणी गाहा, रुपन्देहीको सैनामैना नगरपालिका–८, बस्ने ४२ वर्षीय गुन्जबहादुर मगर, रुपन्देही कन्चन गाउँपालिका–१, का ३३ वर्षीय लक्ष्मण कुमाल र रुपन्देही ओमसतिया–५, का गिरीबहादुर थापा भुजेल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीले सिसिटिभी फुटेज र शंकास्पद व्यवहार लगायतका आधारमा उनीहरुलाई पक्राउ गरेको बताएको छ ।
शंकास्पद लागेर सोधपुछ गर्ने क्रममा पीडितले प्रहरीमा बुझाएको जस्तो गहना भेटेपछि पक्राउ गरिएको प्रहरी निरीक्षक सन्दीप बेल्बासेले जनाए । पक्राउ परेका व्यक्तिहरूले गत २०८० भदौ २६ गते तानसेनको होलाङ्दीबाट एक महिलालाई पहेंलो सुनजस्तो धातु देखाएर ललाईफकाई सुनका एक तोला कुन्डल लुटेको प्रहरीले जनाएको छ ।
त्यस्तै गत चैत १८ गते तानसेनको हरेपीपलबाट बगनासकाली–९, की एक महिलाको साथबाट एक तोला १२ लालको सुनको गहना लुटपाट गरेको, गत जेठ २७ गते तानसेनको गौरीशंकरबाट प्रगतिनगर जाने बाटोमा रिब्दीकोट–७, की एक महिलाको साथबाट एक तोला सुनको रिङ् कुन्डल लुटेको प्रहरी दावी छ ।








