गृहपृष्ठ Featured लुम्बिनी बौद्ध विश्वविद्यालय : केन्द्रीय क्याम्पसमा भर्ना रोकिएपछि विरोध

लुम्बिनी बौद्ध विश्वविद्यालय : केन्द्रीय क्याम्पसमा भर्ना रोकिएपछि विरोध

भैरहवा ।

रूपन्देहीस्थित लुम्बिनी बौद्ध विश्वविद्यालयअन्तर्गत केन्द्रीय क्याम्पसमा अध्यापन भइरहेका विषयमा भर्ना रोकिएपछि स्थानीय सरोकारवालाले विरोध जनाएका छन् ।

लुम्बिनीमा रहेको केन्द्रीय क्याम्पसमा २०७१ सालदेखि पठनपाठन हुँदै आएका विषयमा चालु शैक्षिक सत्रका लागि भर्ना नखोलिएपछि स्थानीयले विरोध जनाएका हुन् ।

उनीहरूले क्याम्पस र विश्वविद्यालय प्रशासनलाई ज्ञापनपत्र बुझाएर भर्ना सञ्चालन गर्न माग गरेका छन् । क्याम्पस प्रशासनले एक्कासि भर्ना रोकेपछि स्थानीय विद्यार्थी मर्कामा परेको जनाउँदै पठनपाठनलाई निरन्तरता दिन माग गरेका छन् ।

लुम्बिनीस्थित केन्द्रीय क्याम्पसमा पुरातत्त्व शास्त्र अध्ययन गरिरहेका छात्र सन्दीप गुप्ता र स्थानीय युवा काशिम खानले क्याम्पस प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा २०७१ सालदेखि पढाइ भइरहेका बीएआरडी, बीटीटीएम विषयका लागि चालु शैक्षिक सत्रमा भर्ना आह्वान नगरिएको उल्लेख गरिएको छ । उनीहरूले लामो समयदेखि पढाई हुँदै आएका विषयमा तत्काल भर्ना आह्वान गर्न माग गरेका छन् । यी विषयमा भर्ना खुलाउनुका साथै स्थानीयका लागि आवश्यक विषयमा पठनपाठन सञ्चालन गर्न उनीहरूले माग गरेका छन् ।

आगामी दिनमा एकवर्षे शिक्षा संकाय र कम्प्युटर विषयमा पढाइ सञ्चालन गर्न माग गरेका छन् । उनीहरूका अनुसार केन्द्रीय क्याम्पसमा पढाइ हुँदै आएका विषयलाई विश्वविद्यालय प्रशासनले बुटवलस्थित सीटी क्याम्पसमा पढाउने गरी भर्ना स्थगित गरिएको हो । यसले लुम्बिनीका विद्यार्थी मारमा परेको उनीहरूको भनाइ छ ।

सम्बन्धित् समाचार