काठमाडौं ।
देशभर दुई हजारभन्दा बढीमा डेङ्गु रोगको सङ्क्रमण देखिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा. गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा सङ्क्रमण देखिएको जानकारी दिए।
मन्त्रालयले यस वर्ष सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको हुँदा मनसुनसँगै लामखुट्टेको प्रजननका लागि अनुकूल अवस्था बन्न सक्ने र डेङ्गु रोगको सङ्क्रमण थप बढ्न सक्ने अनुमान गरेको उनले बताए।
मुस्ताङ, डोल्पा, जुम्ला र हुम्लाबाहेक सबै जिल्लामा डेङ्गुको सङ्क्रमण फैलिएको जनाइएको छ। सबैभन्दा बढी काठमाडौँमा दुई सय ४९ जनामा डेङ्गु देखिएको छ।
त्यस्तै झापामा एक सय ३० र चितवनमा एक सय पाँच जनामा सङ्क्रमण देखिएको छ।








