गृहपृष्ठ Featured काभा महिला भलिबल: भारतमाथि पहिलो जितको खोजीमा नेपाल

काभा महिला भलिबल: भारतमाथि पहिलो जितको खोजीमा नेपाल

काभा महिला भलिबल नेसन्स लिगमा नेपालले चिरप्रतिद्वन्द्वी भारतसँग प्रतिस्पर्धा गर्दै छ । शनिबार त्रिपुरेश्वरस्थित राखेपको कभर्ड हलमा दिउँसो ३ बजे हुने खेलमा नेपाल भारतमाथि पहिलो जितको खोजीमा हुनेछ ।

महिला भलिबलमा दक्षिण एसियाकै बलियो टिम भारतलाई नेपालले अहिलेसम्म हराउन सकेको छैन ।  पाँच वर्षअघि भएको १३औँ दक्षिण एसियाली खेलकुदको फाइनलमा नेपालले भारतको सामना गरेको थियो । जुन खेलमा नेपालले भारतलाई टक्कर दिएको थियो । तर, पाँचौँ तथा निर्णायक सेटमा नेपाल पराजित हुँदै भारतलाई उपाधि सुम्पिएको थियो ।

भारतविरुद्ध नेपालको त्यही फाइनल खेलको प्रदर्शन नै अहिलेसम्मको उत्कृष्ट हो । अहिलेसम्म भारतलाई हराउन नसकेको नेपाली महिला टिमले जारी काभा महिला भलिबलको आफ्नो दोस्रो खेलमा भारतको सामना गर्न लागेको हो । भारतलाई हराएमा नेपालले इतिहास नै बनाउने छ । नेपाली महिला टिमकी कप्तान अरुणा शाही यसपटक तयारी राम्रो रहेकाले उपाधि नै हात पार्ने दाबी गर्छिन् ।

‘यसपटक तयारी राम्रो गरेका छौँ । भारतलाई हराउने मात्रै होइन, उपाधि नै जित्न चाहन्छौँ,’ शाहीले पत्रकार सम्मेलनमा भनेकी थिइन् । सिनियर र युवा खेलाडी टिममा रहेकाले नतिजा राम्रो आउने शाहीको दाबी छ । नेपालले पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा पराजित गरेर प्रतियोगिताको सुरुवात गरेको छ ।

दोस्रो खेलमा भारतविरुद्ध नेपाल उच्च मनोबलका साथ मैदान उत्रिने शाही बताउँछिन् । सुरुवाती दुवै खेल जितेको भारत लयमा देखिएको छ । त्यसैले भारतलाई हराउन नेपाललाई सानो मेहनतले भने पुग्ने छैन । भारतले यसअघि पहिलो खेलमा इरानलाई ३-१ र दोस्रो खेलमा माल्दिभ्सलाई ३-० को सोझो सेटमा पराजित पराजित गरेको थियो । नेपालले भने पहिलो खेलमा श्रीलंकालाई ३-० को सोझो सेटमा हराएको थियो । त्यसैले नेपाल लगातार दोस्रो जितको खोजीमा हुनेछ भने भारत लगातार तेस्रो जित निकाल्ने दाउमा हुनेछ ।

सम्बन्धित् समाचार