काठमाडौँ ।
जल तथा मौसम विज्ञान विभागले बुधबारसम्म भारी वर्षा र अति भारी वर्षा हुन सक्ने र त्यसले ३४ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको छ । उच्च जोखिम क्षेत्रमा सतर्कता अपनाउन आग्रह गर्दै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार सूचना जारी गरेको छ ।
विभागका अनुसार भारी र अति भारी वर्षाको उच्च जोखिममा रहेका जिल्लाहरू ताप्लेजुङ, पाँचथर, संखुवासभा, तेह्रथुम, रसुवा, चितवन, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, दोलखा, म्याग्दी, बागलुङ, कास्की, पर्वत र स्याङ्जा हुन् । तनहुँ, नवलपरासीपूर्व, लमजुङ, गोरखा, कपिलवस्तु, रूपन्देही, पाल्पा, गुल्मी, दाङ, बाँके, बर्दिया, प्यूठान, अर्घाखाँची, रुकुमपश्चिम, कैलाली, कञ्चनपुर, डडेलधुरा, डोटी र बैतडी पनि उच्च जोखिम छन् ।
विपद्को जोखिममा रहेका स्थानका सर्वसाधारणलाई सुरक्षित आश्रमस्थलमा सार्न जिल्ला तथा स्थानीय विपद् व्यवस्थापन समितिलाई पत्राचार गरिएको छ । उच्च जोखिमका जिल्लामा जुनसुकै बेला विपद् आउन सक्ने हुनाले खोज तथा उद्धारका लागि ती जिल्लाका तीनवटै सुरक्षा निकायलाई तयारी अवस्थामा रहन प्राधिकरणले भनेको छ ।
प्राधिकरणले भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ । भारी वर्षाको उच्च जोखिम क्षेत्रका सडकमा रात्रिबस नचलाउन सचेत गराइएको छ । ‘रातको समयमा यात्रा गर्दा बाटोमा आउन सक्ने बाढी र पहिरोको आकलन गर्न कठिन हुने भएकाले उच्च जोखिम भएका जिल्लामा रात्रिकालीन बस नचलाउन आग्रह गरिएको हो,’ प्राधिकरणका प्रवक्ता डिजन भट्टराईले भने ।
प्राधिकरणले भारी वर्षाको अवधिभरि अत्यन्त जरुरी अवस्थामा बाहेक यात्रा नगर्न, नदी किनार र पहिरोको जोखिममा बसेका बासिन्दालाई चनाखो रहन आग्रह गरेको छ ।