रुपन्देही ।
बुटवल उपमहानगरपालिका-११ बुद्धनगरको सार्वजनिक जग्गा व्यक्तिको नाममा गराउने प्रयासमा अदालतले अंकुश लगाइदिएको छ । केही स्थानीयले नक्कली जग्गाधनी खडा गरेर कर्मचारी, जनप्रतिनिधिको मिलेमतोमा त्यहाँको जग्गा व्यक्तिको नाममा बनाउने प्रयास गरेको समाचार सञ्चारमाध्यममा आएको थियो ।
अहिले सो क्षेत्रमा अव्यवस्थित बसोबासी छन् । बुटवलमा २२ वर्षदेखि सरकारी जग्गामा अव्यवस्थित बसोबास गर्दै आएका स्थानीयले कीर्ते कागज बनाएर आफूहरूलाई उठीबास लगाउन भूमाफियासँगै मालपोतका कर्मचारी, जनप्रतिनिधि लागेको विषय सार्वजनिक गरेका थिए ।
बुटवल ११ का वडा सदस्य नकुल शाहीले बुद्धनगरमा कित्ता नं ९ को ग को १५८ मा लीलबहादुर विश्वकर्माले आफ्नो जग्गा दाबी गर्दै आएकोमा अहिले अदालतबाट त्यो खारेज भएको बताए । विकले नक्कली कागजपत्र बनाएर आफ्नो पुर्ख्यौली जग्गा दाबी गर्दै आएका थिए ।








