गृहपृष्ठ Featured लुम्बिनीका मुख्मन्त्रीसहित सबै मन्त्री काठमाडौंमा, प्रदेशका सबै मन्त्रालय सुनसान

लुम्बिनीका मुख्मन्त्रीसहित सबै मन्त्री काठमाडौंमा, प्रदेशका सबै मन्त्रालय सुनसान

रुपन्देही ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसहितका सबै मन्त्रीहरु थप दुई दिन काठमाडौंमै बस्ने भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशका सबै मन्त्रीहरुलाई राखेर विशेष छलफल गर्ने योजना बनाएपछि बिहीबार सबै मन्त्री काठमाडौं पुगेका हुन् । लुम्बिनीमा मुख्यमन्त्रीसहित ९ जना मन्त्री रहेकोमा अहिले सबै जना काठमाडौंमा गएपछि प्रदेशका सबै मन्त्रालय सुनसान भएका हुन् ।

प्रदेशमा संघीयता कार्यान्वयनको ७ वर्षमा प्रदेशका सबै मन्त्री एकसाथ काठमाडौंमा जुटेको यो पहिलो पटक हो ।

मुख्यमन्त्री आचार्य, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल, शहरी विकास मन्त्री रोज राणा र कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी बुधबार नै काठमाडौं पुगेका थिए । अन्य मन्त्री भने बिहीबार पुगेका हुन् ।

प्रधानमन्त्री ओलीसँग शुक्रबार भेट्ने कार्यक्रम रहेपनि उनको स्वास्थ्यमा समस्या आएपछि त्यो कार्यक्रमलाई आइतबार सारिएको छ । मुख्यमन्त्री चेतनारायण आचार्यले शुक्रबार सामूहिक भेट्ने कार्यक्रम रहेपनि प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएपछि आइतबार ११ बजेलाई साय सारिएको बताए ।

सम्बन्धित् समाचार