किरणमान बज्राचार्य
कपिलवस्तु ।
महिना अनुसार साउनको अन्तिम सोमवार तौलिहवा स्थित प्राचीन तौलेश्वर महादेव मन्दिरमा सयौ श्रद्धालुहरूले घस्रँदै जलार्पण गरेका छन् । बाणागंगाको राम घाट नदीमा स्नान गरी ४ किलो मिटर बढीको कठिन यात्रा तय गरेर जलार्पण गरेका हुन । प्राचीन भागीरथी राम घाट (बाणगंगा) नदीमा स्नान गरी घस्रँदै र लडीबुडी खेल्दै तौलेश्वर नाथ मन्दिरमा पुगका थिए । जलार्पण यात्राका लागि भक्तजनहरू आइतबार राति नै नदीमा पुगेका थिए ।
सोमवार बिहान स्नान गरी शरीरमा जल बाँधेर ५ देखि १० घण्टाको लामो यात्रा तय गरी उनीहरुले मन्दिरमा जल बिर्सजन गरेका थिए । साउन महिना शिवको प्रिय महिनाका रुपमा रहेको पण्डितहरू बताउँछन् । सयौ सङ्ख्यामा युवा युवतीहरू महिला, पुरुष घस्रँदै जलार्पण यात्रामा सरिक भएको तौलेश्वरनाथ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिव कुमार गुप्ताले बताए । भागीरथी नदीमा स्नान गरी ८ घण्टा घस्रँदै तौलेश्वर नाथ मन्दिरमा पुगेका कपिलवस्तुको बुद्धभुमी नगरपालिका वडा नम्बर ९ ईमिलियाका सुरज पण्डितले पारिवारिक सुखका लागि यो पुण्य कार्य गरेको बताए । ‘ भोलेनाथको आर्सीवाले सबै राम्रो हुन्छ ’ उनले भने ।
सोमवार बिहान २ बजे नदीमा स्नान गरी घस्रँदै साँढे ९ बजे उनी मन्दिरमा पुगेका थिए । जिल्लाको यशोधरा गाउँपालिका वडा नम्बर ३ हर्दिहवाका सुरज पासीले तेस्रो वर्ष पनि सफलतापूर्वक जलापर्ण गरेको बताए । राति ३ बजे बाणगंगाको राम घाट नदीमा स्नान गरी उनी मन्दिरमा ९ बजे बिहान पुगेका थिए । उनले पनि आफ्नो र पारिवारिक सुखका लागि यो जलयात्रामा सरिक भएको बताए । कपिलवस्तु नगपालिका वडा नम्बर २ कुदानकी सुर्यमति बरईले भोलेनाथले आफ्नो मनोकाङ्क्षा पुरा गर्ने विश्वासले जलार्पणमा सरिक भएको बताईन । ‘ भोले बावाले मेरो मनोकामना अवश्य पुरा गर्नुहुने छ, उहाँले जे मागे पनि पुरा गर्नुहुन्छ । ’
साउन महिनामा पार्वतीले शिवको उपासना गरे पछि शिवसंग विवाह भएको बताइन्छ । घस्रँदै जलापर्ण गर्नाले महादेव खुसी हुने तथा मनोकाङ्क्षा समेत पुरा हुने धार्मिक बिश्वास रहँदै आएको छ । आइतबार राती नदी किनारमा भजन कीर्तन, नाचगान गरि उनीहरुले महादेवलाई नदीको जल सोमबार बिहान अर्पण गरेका थिए । तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरूको भीड लागेको थियो । सोमवार एकै दिन १५ हजार बढीले तौलेश्वरनाथ महादेव मन्दिरमा भक्तजनहरूले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।








