गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता !

लुम्बिनी प्रदेश : विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता !

बुटवल ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेश सभाबाट विश्वासको मत लिएपछि मात्र सरकारलाई पूर्णता दिने भएका छन् । मुख्यमन्त्री आचार्यले भदौ ४ गते प्रदेश सभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

उनले नेपाली कांग्रेसबाट एक जना, साना दलहरू लोसपा, जसपा र नागरिक उन्मुक्ति पार्टीलाई समेत सरकारमा लैजाने गरी छलफल अगाडि बढाएका छन् ।

१२ मन्त्रालय रहेको लुम्बिनीमा मुख्यमन्त्री  आचार्यसहित ९ सदस्यीय मन्त्रिपरिषद् छ । मुख्यमन्त्रीले अहिले आन्तरिक मामिला तथा कानुन मन्त्रालय, सामाजिक विकास मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय आफैँसँग राखेका छन् ।

लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले बाँकी तीन वटा मन्त्री थप्ने काम विश्वासको मत लिएपछि हुने रातोपाटीलाई बताए । खाली तीन मन्त्रालयमध्ये एउटा कांग्रेसलाई, साना दलमध्येबाट लोसपा नेपाललाई एउटा र बाँकी एक मन्त्रालयमा जसपा (अशोक राई)पक्ष र नागरिक उन्मुक्ति पार्टीमध्येबाट कुनै एक दललाई सामेल गर्ने तयारी छ ।

सम्बन्धित् समाचार