सोलुखुम्बुको थामे बाढीमा परेर एक जना स्थानीयबासी बेपत्ता भएका छन्। थामे गाउँका एक जना बोल्न नसक्ने व्यक्ति बेपत्ता भएको कोशी प्रदेश प्रहरीका एसएसपी भीम दाहालले जानकारी दिए।
‘एक जना बोल्न नसक्ने गाउँले बेपत्ता हुनुभएका कारण खोजी सुरू गरिसकेका छौं, अहिलेसम्म सम्पर्कमा आउनुभएको छैन,’ कोशी प्रदेश प्रहरीका एसएसपी भीम दाहालले भने ‘उहाँको नाम हामीकहाँ आइसकेको छैन। एक जना गाउँले बेपत्ता भएको भनेपछि प्रहरी खोजीमा जुटेको छ।’
प्रहरी चार बजेतिर घटनास्थल पुगेको थियो। घटनास्थलमा उद्धार गर्ने, खोज्ने र विस्थापित भएकालाई प्रहरीले अस्थायी बासस्थानको प्रबन्ध गरिरहेको छ। करिब एक सय जना गाउँलेलाई अस्थायी बासको प्रबन्ध गर्नुपर्ने प्रहरीको भनाइ छ।
खुम्बु पासाङल्हामु गाउँपालिका-५ स्थित थामे गाउँमा शुक्रबार दिउँसो पसेको थामे खोलाको बाढीले गाउँका १२ वटा घर बगाएको थियो।
‘एउटा छात्राबास, ५ वटा होटलसहित १२ वटा घर बाढीले बगाएको छ,’ एसएसपी दाहालले भने, ‘त्यसबाहेक एउटा क्लिनिक र एउटा स्कुलमा बाढीले क्षति पुर्याएको छ। यसरी आंशिक र पूर्ण रूपले क्षति पुग्ने घरको संख्या १४ पुगेको छ।’
बर्खाको समयमा त्यस क्षेत्रका होटल र घरहरूमा धेरै मान्छे नबस्ने भएका कारण ठूलो मानवीय क्षति नभएको जनप्रतिनिधिको भनाइ छ।








