भैरहवा ।
यातायात आवागमन नै प्रभावित हुने गरी भैरहवा भन्सार नाकामा एक निजी कम्पनीले सकडमै पार्किङ गरेर शुल्क असुल्दै आएको पाइएको छ । सार्वजनिक सडकमै आयात–निर्यातका मालवाहक गाडी पार्किङ गराएर उसले शुल्क असुल्दै आएको हो ।
भैरहवा भन्सार कार्यालयको स्वामित्वमा रहेको पार्किङ तथा गोदामलाई व्यवस्थित गर्न ठेक्का लिएको निजी कम्पनी अन्नपूर्ण टर्मिनल्स प्रालिले विगत एक वर्षभन्दा अगाडिदेखि भैरहवा भन्सार परिसरमा शुल्क असुलीका लागि राजमार्गलाई नै आफूअनुकूल प्रयोग गर्दै आएको छ ।
अत्यधिक भारसहितका गाडी लगातार सडकमै पार्किङ गराइनाले यातायात संचालनमा अवरोध मात्रै भएको छैन, सडक दबेर भत्किएको पनि छ । सडकमै पार्किङ गराइनाले यातायात आवागमन असहज भएको र सडकमा क्षति पुगेको भन्दै पार्किङ नगराउन सडक डिभिजन कार्यालय बुटवलले बारम्बार पत्राचार पनि गर्दै आएको छ । तर सरोकारवाला निकायले कार्यान्वयन गर्नमा चासो देखाएको छैन ।
‘मालवाहक गाडीलाई राजमार्गमै पार्किङ गराइनाले भैरहवा भन्सार आसपासको सीमा नाकामा ट्राफिक व्यवस्थापन गर्न समस्या भएको छ,’ जिल्ला ट्राफिक प्रहरी कार्यालय रूपन्देहीका प्रमुख प्रहरी निरीक्षक बजिर विष्टले भने, ‘सडकमै पार्किङ गराइँदा भन्सार नाकामा यातायात आवागमन बारम्बार अवरोध हुने गरेको छ ।’








