अछाम ।
चौरपाटी गाउँपालिका-६ की पारु साउद गाउँकै देवीमाण्डु माविमा कक्षा १० मा पढ्छिन् । उनका बुवा कामको सिलसिलमा भारतमा छन् । कहिले वर्ष पुग्दा घर आउँछन्, कहिले दुई वर्षमा । उनका ३ बहिनी र २ भाइ छन् । १५ वर्षीया पारु सबैभन्दा जेठी हुन् ।
पारुले लगातार तीन वर्षदेखि आफ्नो र भाइबहिनीको पढाइ खर्च कहिले निहुरो बेचेर त कहिले काफल बेचेर धानिरहेकी छन् । साँफे –चौखुट्टे सडक खण्डमा चल्ने गाडीका यात्रुलाई जंगलमा फल्ने मौसम अनुसारका फलफूल, निहुरो, टिमुर बेचेर पढाइ खर्च जुटाउने गर्छिन् ।
‘बिदाको दिन गाइवस्तु चराउन जाँदा पढाइ खर्च पनि जुट्छ । बैशाख जेठसम्म काफल टिपेर बेचेँ, अहिले निहुरोको सिजन छ,’ उनी भन्छिन्, ‘गोठालो आएको बेला यसैगरी बेच्ने हो । ताजा ताजा टिपेर दिँदा तराई जानेहरु खुसी भएर किन्छन् । कहिलेकाँही त दिनमै एक हजार रुपैयाँसम्म पनि कमाइ हुन्छ ।’
चौरपाटी गाउँपालिका –६ की १४ वर्षीया रमिता साउद बिदाको दिन र शनिबार परेको दिन अरु दिनभन्दा खुशी हुन्छिन् । आफ्नो उमेर समूहका सबै साथीहरु बिदा परेको दिन गाइवस्तु चराउन जाने र पहाडबाट तराइ जाने यात्रुलाई कहिले निहुरो बेच्ने, कहिले काफल । यसरी आम्दानी गरेर आफ्नो पढाइ खर्च जुटाउन पाउँदा उनी खुसी हुन्छिन् ।








