पाल्पा ।
पाल्पामा आज भगवतीको रथयात्रा हुदैंछ । रथयात्राको पूर्वसन्ध्यामा सोमबार राति १० हजारभन्दा बढी श्रद्धालु जाग्राम बसेका छन् ।
नेपाल–अंग्रेज युद्धको सम्झनामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन तानसेनमा भगवतीको रथयात्रा हुँदै आएको छ । रथयात्राको जाग्राममा मध्यरातमा सयौं श्रद्धालु जयजयकारको गुन्जनसहित सहभागी भएका हुन् । पाल्पा तानसेन–३ स्थित भगवतीटोलको भगवती मन्दिर परिसरमा मध्यरातमा भगवतीको दर्शन गर्ने र रथलाई प्रारम्भ गर्दा जाग्राममा सहभागी हुन श्रद्धालुको सहभागिता रहेको प्रहरीले जनाएको छ ।
आतिसबाजीका साथै लाखे नाचको रौनकले मध्यरातसम्म भिड नघटेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अशोक महर्जनले बताए । नेपाल–अंग्रेज युद्धमा कर्णेल उजीरसिंह थापाले नुवाकोट (पाल्पा) जितगढी किल्ला विजयी गरेको सम्झनामा भगवतीको रथयात्रा २०५ वर्षदेखि तानसेन बजारमा निकालिँदै आएको छ ।
कृष्णअष्टमीको मध्यरातमा पूजाआजासहित राँगो, बोकालगायतका बलि दिइएको छ । तीन/तीन पटक रथलाई मन्दिर परिक्रमा गराएपछि रथयात्राका लागि मन्दिरअगाडि राखिएको छ ।








