जापानमा शक्तिशाली आँधीका कारण बिहीबार ३ जनाको ज्यान गएको छ । आँधीका कारण आइची प्रिफेक्चरको गामागोरी सहरमा पहिरोमा परेर एकै परिवारको तीन जनाको ज्यान गएको हो ।
जापान टुडेका अनुसार मृत्यु हुनेहरू दुईजना करिब ७० वर्ष उमेर समूहका दम्पती र उनीहरूका ३० वर्षीय छोरा छन् । परिवारका अन्य दुई सदस्यको उद्धार गरिएको बताइएको छ । कागोसिमा र मियाजाकीमा कम्तीमा ४० जना घाइते भएको बताइएको छ ।
जापानी मौसम विभाग (जेएमए) का अनुसार दक्षिणी जापानको क्युसु टापुमा सानसान आँधी स्थानीय समयअनुसार बिहान ८ बजेतिर आइपुगेको थियो । टापुमा प्रतिघन्टा २५२ किमिको गतिमा आँधी चलेको थियो । त्यसअघि जेएमएले आँधीबारे विशेष चेतावनी जारी गरेको थियो ।
क्युसुका कतिपय क्षेत्रमा पछिल्लो २४ घण्टामा ६०० मिलिमिटर पानी परेको थियो । जेएमएले शुक्रबार बिहानदेखि ४८ घण्टामा ११ सय मिलिमिटर वर्षा हुने पूर्वानुमान गरेको छ ।








