लुम्बिनी विकास कोषको आर्थिक वर्ष २०८१/०८२ का लागि नीति कार्यक्रम तथा अनुमानित बजेट परिषद्मा पेस भएको छ । आज बुद्ध जन्मस्थल लुम्बिनीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री एवं लुम्बिनी विकास कोषका अध्यक्ष बद्रीप्रसाद पाण्डेको अध्यक्षतामा बसेको परिषद् बैठकमा कार्यक्रम र बजेट पेस गरिएको हो ।
कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले आन्तरिक तर्फ ३७ करोड ११ लाख र नेपाल सरकारको गुरुयोजनाको बहुवर्षिय कार्यक्रमका लागि ४४ करोड गरी ७६ करोड ९८ लाखको अनुमानित बजेट परिषद्मा पेस गरेका छन् ।कोषका सदस्य सचिव सानु राजा शाक्यले दोस्रो गौतम बुद्ध अन्तर्राष्ट्रिय शान्ति पुरस्कार वितरणको प्रक्रिया अगाडि बढाउने, लुम्बिनी वर्ल्ड हेरिटेज कन्फ्रेन्स गर्न सरकार समक्ष अनुरोध गर्ने लगायतका कार्यक्रम सहितको नीति कार्यक्रम पेस गरेका छन् ।
परिषद्मा पेस भएका नीति कार्यक्रम र बजेटमाथि व्यापक छलफल गरी लुम्बिनीको प्रवर्द्धन, विकास, स्थानीय समुदायसँग जोड्ने र लुम्बिनी विश्व सम्पदाका रूपमा स्थापित गर्ने गरी अर्को बैठकले पारित गर्ने गरी सकिएको कोषले जनाएको छ ।
कोषका अध्यक्ष समेत रहेका मन्त्री पाण्डेले लुम्बिनी विश्वमै नेपाल चिनाउने सम्पदा भएकाले यसको महत्वलाई अझ अन्तर्राष्ट्रियकरण गर्ने गरी स्पष्ट योजना देखिने गरी अर्को परिषद् बैठक मार्फत पारित गर्ने बताए ।