विराटनगर ।
कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आमरण अनशन थालेका छन् । आफू मुख्यमन्त्री हुँदा सुरू गरेका योजना कटौती गरेको भन्दै प्रदेशसभा अगाडि बनस्खण्डी मन्दिर नजिकै उनले अनशन सुरू गरेका हुन् ।
कार्कीले अनशन बस्ने घोषणा गरेपछि जिल्ला प्रशासन कार्यालयले दिउँसोबाट अनिश्चितकालीन निषेधादेश जारी गरेको छ । पूर्वमुख्यमन्त्री कार्कीले १० वर्षमुनिका बालबालिकाकाका लागि विशिष्टीकृत सेवासहित निःशुल्क उपचार कार्यक्रम कटौती गरिएको दाबी गरेका छन् ।
उनले प्रदेश सरकरले ल्याउने बजेटमा २५ लाखभन्दा तलका आयोजना नराख्ने नीति भए पनि कमका योजना हालेको भन्दै सच्याउन माग गरेका छन् । शैलजा आचार्य हृदय रोग उपचार केन्द्रको सञ्चालन गर्न बजेट नहालेको भन्दै उनको आपत्ति छ । महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता काटेको, घीउ तथा धुलो दूधको निर्यातमा प्रोत्साहन रकम वितरण कार्यक्रम रोकेको, सुनसरी मोरङ केसलिया कोरिडोरको विकास कार्यक्रम रोकेको, कृषि र प्राविधिक शिक्षाका विद्यार्थीलाई छात्रवृत्ति कार्यक्रम रोकेकाले अनशन बसेको उनको जिकिर छ ।








