काठमाडौँ ।
काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै ‘उहिलै मरिन् सासु, अहिले आए आँशु’ भन्दै स्ट्याटस लेखेका छन् । सामाजिक सञ्जाल फेसबुकमा उनले नदीतटको मापदण्ड थप २० मिटरबारे प्रधानमन्त्री ओलीप्रति लक्षित गर्दै स्ट्याटस लेखेका हुन् ।
‘म काठमाडौँ महानगरको मेयरमा उम्मेदवारी दिन्छु कि भन्ने तपाईंले थाहा पाउनुभन्दा पनि ३ वर्ष अगाडि न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र सपना प्रधान मल्लको इजलासले २०७६ साउन २० गते १२ बुँदे फैसला जारी गरी नदीतटको मापदण्ड थप २० मिटर कायम गर्न भनियो’ बालेनले लेखेका छन् ‘त्यतिबेला अहिले प्रधानमन्त्री रहेका खड्ग प्रसाद ओली नै प्रधानमन्त्री हुनुहुन्थ्यो । उहाँले नियुक्त गर्नु भएको महान्यायधिवक्ता अग्नि खरेल, उहाँकै पार्टी एमालेले बनाएको बागमतीको मुख्यमन्त्री डोरमणि पौडेल, उहाँकै पार्टी एमालेले बनाएको काठमाडौँको मेयर विद्यासुन्दर शाक्य ।’
सबै एमालेकै हुँदा पनि त्यतिबेला असहमति नराखेको भन्दै मेयर बालेन प्रश्न उठाएका छन् । ‘यी सबैले आफ्नो सचिव र सम्बन्धित कर्मचारी पठाएर तर्क गरेपछि, नदितट उपयोगिताको योजना अदालतलाई देखाएपछि मात्र अदालतले त्यो फैसला गरेको थियो । अदालतको प्रक्रिया नै यहि हो । पक्ष विपक्ष दुवैको तर्क सुन्छ र फैसला गर्छ । यदि फैसला मन नपरेमा पुनरावेदन (भ्याकेट ) गर्ने अधिकार रहन्छ’ बालेनले लेखेका छन् ‘प्रधानमन्त्री खड्ग प्रसाद ओली, बागमतीका मुख्यमन्त्री डोरमणि पौडेल, काठमाडौँ महानगरका मेयर विद्यासुन्दर शाक्य कोही पनि सो फैसला पुनरावेदनका लागि गएनन् । यसको अर्थ हो, त्यो फैसलामा यी मध्ये कसैको असहमति रहेन ।’
‘हामीले खोज्ने जवाफ यति हो, त्यो बेला किन पुनरावेदनमा गएनन् ? कि भन्न पर्यो, त्यो बेला हाम्रो बुद्धि पुगेन । या भन्न पर्यो, अहिले हाम्रो दाउ अर्कै छ । उहिलै मरिन् सासु, अहिले आए आँशु किसिमको अवसरवादी चरित्र बारेमा प्रश्न गर्नै पर्छ’बालेनले भनेका छन् ‘हाम्रो सँधै त्यहि कुरा छ, नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सा पास गर्दा, घर जग्गाको कारोवार गर्दा वा घरजग्गा धितो राख्दा यस मापदण्डलाई पालना गरिदिनु होला । अन्यथा पछि धोका पाउनु हुनेछ सरकारबाट अर्को मापदण्ड ल्याएर ।’