देउखुरी ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवललाई आर्थिक रुपमा समृद्ध सहर र स्वास्थ्य हब बनाउन लागिएको बताएका छन् । उनले १२ सय शय्याको लुम्बिनी प्रादेशिक अस्पतालले बुटवलमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे ।
भदौ १५ गते उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र मुख्यमन्त्री आचार्यले भवनको संयुक्त शिलान्यास गरेपछि काम सुरु भएको छ । यो आयोजना लुम्बिनी प्रदेशकै ‘ड्रिम प्रोजेक्ट’ पनि हो । प्रदेश सरकारको ६ अर्ब १८ करोड लागतका देशकै ठूलो अस्पताल निर्माण हुन लागेको हो । चालु आर्थिक वर्षमा प्रदेश सरकारले १ अर्ब ८० करोड रुपैयाँ विनियोजन गरेको छ ।
नेपाल औषधि व्यवसायी संघ जिल्ला शाखा रुपन्देहीको आयोजनामा शनिबार बुटवलमा भएको सम्मान एवं औषधि व्यवसायीहरुको क्षमता अभिवृद्धि कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले अस्पतालले पूर्णता पाएर सञ्चालन भएपछि औषधि व्यवसायी फस्टाउने र होटलदेखि कृषकसहित सबै क्षेत्रमा आर्थिक कारोबार फस्टाउने उनले बताए ।








