मनोज पौडेल
कपिलवस्तु ।
सामुद्रिक चरा ठिमाहा फ्यालफ्यालेले कपिलवस्तुस्थित पन्छी आरक्ष जगदीशपुर तालमा बचेरा कोरलेको छ । जगदीशपुर पन्छी आरक्षको मध्य भागमा रहेको ढिस्कोको उत्तरपूर्वी कुनाका दुई ठाउँमा ठिमाहा फ्यालफ्यालेका ५ वटा बचेराका तस्बिर जनकपुरका डा. एसके सिंहले खिचेका छन् ।
डा. सिंहले एउटा गुडमा ३ र अर्कामा २ वटा बचेराका तस्बिर खिचेका छन् । ‘डुंगामा जाँदै गर्दा ठिमाहा फ्यालफ्यालेले टाउकामा ठुङला जस्तो गर्यो,’ उनले सुनाए, ‘सतर्कता अपनाउँदै अघि हेर्दा दुईवटा गुडमा बचेरा देखियो ।’ ठिमाहा फ्यालफ्यालेको बचेराका तस्बिर खिचेर रेकर्ड बन्दा खुसी लागेको सिंहले बताए । पेसाले चिकित्सक रहेका उनी सोखले वाइल्डलाइफ फोटोग्राफीमा लागेको बताउँछन् । जगदीशपुर ताल क्षेत्रमा ६०/७० वटा ठिमाहा फ्यालफ्याले उडेको र बसेको आफूले देखेको नेचर गाई अनिल चौधरीले बताए । उनका अनुसार त्यहाँ कम्तीमा १५ वटा गुँड छन् ।
युरोप, एसिया, अफ्रिका र अस्ट्रेलियाका समुद्र, नदी र सिमसार क्षेत्रमा पाइने चरा ठिमाहा फ्यालफ्यालेले नेपालमा पहिलो पटक बच्चा कोरलेको वरिष्ठ चराविद् हेमसागर बरालले बताए । ‘मुलुकका लागि राम्रो हो, यसले पर्यापर्यटनप्रति आकर्षण थपेको छ,’ उनले भने । गत वर्ष भदौ दोस्रो साता जगदीशपुरमा फोटोग्राफर सुगम ताम्राकार र पेम्बा शेर्पा तथा कोशी पुलछेउमा निसान बरालले ठिमाहा फ्यालफ्यालेको गुँड फेला पारेका थिए ।
तर ठिमाहा फ्यालफ्याले ओथारो बसेको समाचार बाहिरिएपछि जगदीशपुरमा फोटो खिच्नेको भीड बढेपछि चरा ओथारो छाडेर भागेका थिए । कोशीमा भने बरालले ‘नेस्टिङ फलोअप’ गर्न पाएनन् । यस वर्ष भने सामुद्रिक चराले राम्ररी बचेरा हुर्काओस् भनेर तालभित्र जान कडाइ गरिएको कपिलवस्तु नगरपालिका–९ का वडाध्यक्ष दीपकबहादुर गुरुङले बताए ।








