गृहपृष्ठ Featured लुम्बिनी प्रदेश : निजामती सेवा ऐन संशोधन विधेयक प्रदेश सभामा पेस

लुम्बिनी प्रदेश : निजामती सेवा ऐन संशोधन विधेयक प्रदेश सभामा पेस

बुटवल ।

लुम्बिनी प्रदेशको निजामती सेवा ऐन संशोधनका लागि प्रदेश सभाको विषयगत समितिमा छलफल हुने भएको छ । आइतबार बसेको प्रदेश सभाको चौथो अधिवेशनको ३३ औं बैठकले प्रदेश निजामती सेवा ऐन २०८० लाई संशोधन गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउने प्रस्ताव पारित गरेको हो ।

बैठकमा संशोधन विधेयकमाथि दफावार छलफलका लागि भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रस्ताव गरेका थिए । सभामुख तुलाराम घर्तीले निर्णयार्थ प्रस्तुत गरेको विधेयकलाई प्रदेश मामिला तथा कानुन समितिमा दफावार छलफलका लागि पठाउने प्रस्ताव सर्वसम्मतले पारित भएको थियो ।

स्रोतका अनुसार सोमबार प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा छलफलका लागि पेस गर्ने तयारी छ । प्रदेश सभाबाट ऐन बनेको ठिक एक वर्षपछि सरकारले त्यसलाई संशोधन गर्ने तयारी गरेको हो । प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्ने निर्णय लुम्बिनी मन्त्रिपरिषद‌्को गत सोमबारको बैठकले पारित गरेको थियो ।

सम्बन्धित् समाचार