नेपालगञ्ज — कोहलपुर नगरपालिका–८ पिपरीमा पिर्काले हानेर बाबुको हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी धर्मराज भण्डारीका अनुसार कोहलपुर नगरपालिका–८ पिपरीका ७० वर्षे नैनसिंह क्षेत्रीलाई उनकै छोरा दिपबहादुर क्षेत्रीले पिर्काले हानेर हत्या गरेका हुन् ।
डीएसपी भण्डारीका अनुसार पिर्का प्रहार गर्ने छोरा दिपबहादुर क्षेत्रीलाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कोहलपुरमा ल्याएपछि उनले पिताको हत्या गरेको स्वीकारेका छन् । बाबु र छोराको झगडा परेपछि छोराले बुवालाई पिर्काले हानेर हत्या गरेको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।
गम्भीर घाइते क्षेत्रीको उपचारको क्रममा मेडिकल कलेजमा मृत्यु भएको थियो । डीएसपी भण्डारीका अनुसार प्रारम्भिक अनुसन्धानमा आइतबार राति दुवै जनाले रक्सी खाएको र केही समयपछि झगडा भएको देखिन्छ ।








