गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको राजापानीमा ‘पोन्ड क्रस कन्टेस्ट ह्विथ रोप’ हुदैं : विजेतालाई ५१ हजार

कपिलवस्तुको राजापानीमा ‘पोन्ड क्रस कन्टेस्ट ह्विथ रोप’ हुदैं : विजेतालाई ५१ हजार

सागर वि.क., वैखरी अनलाईन ।

लायन्स क्लव अफ कपिलवस्तुले यस बर्ष ‘पोन्ड क्रस कन्टेस्ट ह्विथ रोप’ (डोरीमा झुन्डिएर पोखरी पार गर्ने खेल) आयोजना गर्ने भएको छ । उक्त खेलबारे बुधबार बाणगंगा नगरपालिका ३ राजापानीमा पत्रकार सम्मेलन गरि जानकारी गराईएको हो । विगतमा लायन्सले ‘साइकल प्लाङक ब्यालेन्स’ गराउँदै आएको थियो ।

यस बर्ष हुने यो खेल यही असोज २३ गते पर्यटकिय स्थल राजापानीमै रहेको पोखरीमाथि खेलाईने खेल संयोजक रामसुभागे थारुले जानकारी दिए । खेलका लागी आवश्यक संरचना बनाउन सुरु गरिसकिएको बताउँदै उनले भने, ‘खेलको सम्पूर्ण तयारी यही असोज २० गतेभित्र सक्छौं ।’

उनले खेल जुनियर र सिनियर गरि दुई उमेर समूहमा विभाजन गरि खेलाईने बताए । उनका अनुसार जुनियरतर्फ ८ देखि १६ बर्षका बालबालिकाहरुले भाग लिन पाउने छन् भने सिनियरतर्फ १७ बर्षदेखि माथिका व्यक्तिहरुले भाग लिन पाउने छन् । जुनियरको हकमा भने अभिभावकको अनुमति लिनुपर्ने छ । पोखरी माथि झुन्डाईएको डोरीलाई कम समयमा पार गर्ने नै खेलाडी नै खेलको विजता हुने उनले बताए । उक्त डोरी करिब १० फिट उचाईमा ४८ मिटर लामो हुने छ ।

जुनियरतर्फ प्रथम हुने विजेताले ११ हजार १११, द्धितीय हुनेले ७ हजार १११ र तृतीय हुनेले ५ हजार १११ रुपैयाँ प्राप्त गर्ने छन् भने सिनियरतर्फ प्रथम हुनेले ५१ हजार १११, द्धितीय हुने २५ हजार १११ बढी र तृतीय हुनेले १५ हजार १११ रुपैयाँ प्राप्त गर्ने छन् । खेलमा सहभागी हुन एक हजार रुपैयाँको फर्म भर्नुपर्ने छ ।

मुख्यतः पर्यटन, स्वास्थ्य र प्रचारप्रसारका लागी यस खेल आयोजना गरिएको उनले बताए । उनले सम्भवतः यो खेल नेपालमै पहिलो पटक हुन लागेको समेत दाबी गरे । उनले खेल निकै रोचक र नयाँ हुने जिकीर गरे ।

क्लवका अध्यक्ष नवदत्त घिमिरेले यस खेलले व्यक्तिको स्वास्थ्यसंगै यस क्षेत्रको प्रचारप्रसारमा सहयोग गरि पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले खेलबाट आर्जन हुने आम्दानी यस क्षेत्रमा ब्याप्त लागुपदार्थ दुव्यर्शनीको नियन्त्रण र अटिजमसम्बन्धि सचेतनामूलक कार्यक्रम गर्न उपयोग गरिने बताए ।

लायन्सले विभिन्न क्षेत्रमा काम गर्दै आएको बताउँदै उनले भने, ‘अहिले केही नयाँपन दिउँ भनेर यो खेल गर्न लागेका हौं । खेलको लागी आवश्यक तयारीमा निरन्तर लागेका छौं ।’

क्लवका उपाध्यक्ष नारायण प्रसाद पौडेलको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको संचालन सचिव दामोदर पन्थीले गरेका थिए ।

सम्बन्धित् समाचार