वैखरी अनलाईन, बाणगंगा ।
कपिलवस्तुको बाणगंगा नगरपालिका– २ मा अवस्थित बैजलपुर जनकल्याण सामुदायिक वन उपभोक्ता समूहको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम मंगलबार वनको आफ्नै सभालहमा सम्पन्न भएको हो । सब डिभिजन वन कार्यालय पिपराका प्रमुख मोहन मिश्रले उमेर पुगेका रुखको कटान गरि नयाँ विरुवा रोप्ने कार्यलाई अगाडि बढाउनुपर्ने बताउँदै जथाभावी रुख काट्ने प्रवृतिलाई राक्नुपर्ने बताए ।

उनले वन अतिक्रमण रोक्ने कार्यमा सबै सरोकारवाला एकबद्ध भएर लाग्न आवश्यक रहेको बताए । उनले यस सामुदायिक वन क्षेत्रमा अतिक्रमणको समस्या नभएको भन्दै खुशी व्यक्त गरे । उनले सामुदायिक वनकै आम्दानीबाट वन संरक्षणसंगै गरिबी निवारण, आर्थिक तथा सामाजिक विकास गर्न सकिने बताए ।
उनले लागत अनुमान गरेर मात्र खर्च गर्दा कामको गुणस्तरियता राम्रो हुने बताए ।
बाणगंगा नगरपालिका वडा नं.२ का वडाध्यक्ष विष्णु प्रसाद पौडेलले बैजलपुर जनकल्याणले सामुदायिक वनले वनको संरक्षण, सम्बद्र्धनसंगै सामाजिक विकासमा समेत योगदान गरेको भन्दै प्रशंसा गरे । वन अमूल्य सम्पत्ति भएको बताउँदै उनले यसको संरक्षणमा सबै एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
उनले वनमा आर्थिक आम्दानीको परिचालनको विषय चुनौतिका रुपमा देखिएको बताए । वडाले विगतदेखि नै वनसंग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्यलाई निरन्तरता दिने उहाँले प्रतिवद्धता व्यक्त गरे ।
वैज्ञानिक वन व्यवस्थापन महासंघकी अध्यक्ष रेनु सेनले वनसम्बन्धि ऐन नियमहरुको दायराभित्र रहेर काम गर्दै वनको आर्थिक पक्षलाई पारदर्शी बनाउनुपर्ने बताईन् । उनले विभिन्न वनमा आर्थिक अनियमिता हुने खबर बाहिरिने क्रम बढेको भन्दै त्यसतर्फ हरेक सामुदायिक वन सचेत हुनुपर्ने बताईन् ।
वनका अध्यक्ष सत्यनारायण थारुले बार्षिक अनुमानित आय व्यय तथा बजेट वितरण र कार्यविधि प्रस्तुत गरेका थिए । सो क्रममा उनले वनसंग सम्बन्धित सम्पूर्ण निकायसंग आवश्यक सहकार्य गरेर अघि बढ्ने प्रतिवद्धता जनाए । वनले वन संरक्षण, सम्बद्र्धनलाई प्राथमिकतामा राखेको बताउँदै अध्यक्ष थारुले समाज रुपान्तरणमा वनले खेल्न सक्ने भूमिका निर्वाह गर्न आफ्नो टिम तयार रहेको बताए । वन सबैको साँझा सम्पत्ति भएकाले यसको रेखदेखमा सबैले चासो देखाउनुपर्ने उनको भनाई छ ।
कार्यक्रममा सहसचिव बाबुराम जैसीले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रेम बहादुर रेस्मीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । ति दुबै प्रतिवेदन सर्वसम्मत पारित भएका थिए ।
राधा भुसाल शर्माको संचालनमा सम्पन्न उक्त कार्यक्रममा बोल्ने वक्ताहरुले वनले वन संरक्षणमा तुलनात्मक रुपमा अन्य वनभन्दा उदाहरणीय काम गरेको भन्दै प्रशंसा गरेका थिए ।








