गृहपृष्ठ Featured पार्टी एकताबारे कपिलवस्तुमा विप्लव र जनार्दनबिच एक घण्टा लामो ‘अन्तरङ्ग’ कुराकानी

पार्टी एकताबारे कपिलवस्तुमा विप्लव र जनार्दनबिच एक घण्टा लामो ‘अन्तरङ्ग’ कुराकानी

नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक बस्नुअघि उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’ र नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग अन्तरङ्ग कुराकानी भएको छ ।

मंगलबार नेकपाको कपिलवस्तुस्थित शिवगढीमा रहेको केन्द्रीय कार्यालयमा दुई शीर्ष नेताबिच एक घण्टा लामो कुराकानी भएको हो ।

काम विशेषले कपिलवस्तु गएका बेला विप्लवलाई भेट्न शर्मा शिवगढी पुगेका थिए । छलफलमा पार्टी एकता र समग्र कम्युनिस्ट आन्दोलनलाई नयाँ शिराबाट लैजाने विषयमा सकारात्मक कुराकानी भएको महासचिव विप्लवले रातोपाटीसँग बताए । तर माओवादीले संस्थागत निर्णय नगरी अहिले नै एकता भइहाल्छ भन्ने अवस्था छ भनेर बुझ्न नहुने उनको तर्क छ ।

‘प्रभाकरजी काम विशेषले यहाँ आउनुभएको थियो । भेटघाट गरौँ भन्ने कुरा भयो, भेट्यौँ । कुराकानी राम्रो भएको छ । पहिलो कुरा देशमा जुन जटिल खालको राजनीतिक परिस्थिति बनेको छ । त्यसबारे थोरै समीक्षा भयो । उहाँले बुझेको र हामीले बुझेको कुरा आपसमा छलफल गर्‍यौँ । दोस्रो कम्युनिस्ट आन्दोलनलाई कसरी एकताबद्ध भएर अगाडी लैजाने भन्ने विषयमा छलफल भयो । तेस्रो माओवादीबिच एकता र मोर्चाको बारेमा छलफल भयो । पार्टी एकतालाई सकारात्मक ढङ्गले लैजाऔँ भन्ने कुरा भयो । चौथो आन्तरिक बैठक बस्दैछ । त्यसमा सबैले सकारात्मक ढङ्गले पहल गरौँ । एकता र मोर्चालाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भयो । छलफल राम्रो भयो,’ छलफलबारे विप्लवले भने ।

माओवादीभित्रको वैचारिक सङ्घर्षका विषय उनीहरूको आन्तरिक विषय भएकाले सकारात्मक ढङ्गले अगाडि बढोस् भन्ने आफूले शुभेच्छा व्यक्त गरेको उनले जानकारी दिए ।

सम्बन्धित् समाचार