दाङ ।
दाङको तुलसीपुरस्थित टरिगाउँ एयरपोर्टबाट अहिले साताको २ दिन दाङ–काठमाडौँ हवाई उडान भइरहेको छ। एयरपोर्टको स्तरोन्नति नहुँदा अहिले नेपाल एयरलाइन्सका साना हवाईजहाजले मात्र उडान भरिरहेको छ।
यसको स्तरोन्नति गर्ने चर्चा पटक पटक हुने गरे पनि अहिलेसम्म अगाडि बढेको छैन। जसका कारण यो एयरपोर्टको विकास हुनेमा यहाँका स्थानीय आशङ्का व्यक्त गर्छन्। चुनावताका‚ प्रधानमन्त्री, मन्त्री र केन्द्रीय नेताहरू दाङ आएको वेला यही एयरपोर्ट स्तरोन्नतिको चर्चा गर्छन्।
हवाई सेवा नियमित नहुँदा यहाँका स्थानीयलाई अपर्झट पर्दा समस्या भोग्नुपरेको स्थानीय महेशकुमार आचार्यले बताए। उनले २०११ सालमा स्थापना भएको पुराना एयरपोर्टको विकास अहिलेसम्म पनि हुन नसक्नु निकै दुःखद भएको बताए।
उनले भने, ‘अहिले पनि नियमित उडान हुँदैन। यही एयरपोर्टमा हो, कुनै समय ३२ सिटको जहाज सञ्चालन भएको थियो तर अहिले सानो जहाज पनि नियमित छैन। यो दाङबासीको लागि दुर्भाग्य नै हो।’ उनले प्रदेशको राजधानी भएको ठाउँमा यस्तो अवस्था हुनु नै दुःखदायी भएको बताए।
उनका अनुसार यहाँबाट पश्चिममा धनगढी, पूर्वमा सिमरा, पोखरा, काठमाडौँ, जुम्ला, नेपालगञ्ज, भैरहवा उडान हुने गरेको थियो। अहिले मुश्किलले काठमाडौँको मात्र उडान हुने गरेको छ।








