गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुमा चन्दा विवादमा एक जनाको हत्या, २ जना पक्राउ

कपिलवस्तुमा चन्दा विवादमा एक जनाको हत्या, २ जना पक्राउ

४ कात्तिकको राति पौने ९ बजेतिर कपिलवस्तुको बिजयनगर गाउँपालिका-२ खडैचा भैसीघास्थित चिरई खोलाको किनारमा एउटा शव फेला परेको भन्दै कपिलवस्तु प्रहरीलाई खबर आयो।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट डीएसपी मोहनमणि अधिकारी र इलाका प्रहरी कार्यालय गणेशपुरबाट इन्सपेक्टर हर्षबहादुर चन्दको टोली घटनास्थल पुगेको थियो। तालिमप्राप्त सोको अफिसरसहित पुगेको टोलीले शव उत्खनन् गर्‍यो ।

कम्मरदेखि माथिको भाग बालुवाले छोपिएको, खैरो रंगको ट्राउजर र जुत्ता लगाएको, गाढा निलो रंगको धर्का भएको बटनवाला सट लगाएको अधवैंशे पुरुषको शव भेटिएको थियो ।

शव सड्न सुरु गरेकाले केही दिनअघि नै हत्या गरेर फालेको हुनसक्ने आशंका प्रहरीको थियो । पछि अनुसन्धानका क्रममा खुल्यो, मृत भेटिएका ती व्यक्ति दिनेश भनिने जयप्रकाश यादव ।

कपिलवस्तु नगरपालिका-१० तेनुवाका ४५ वर्षीय उनी नेकपा माओवादीको महाविर समूहमा आबद्ध रहेको प्रहरी अनुसन्धानबाट खुल्यो। उनी महाविर समूहको कपिलवस्तु जिल्लाको इलाका नं. १० विजयनगर गाउँपालिकाका इन्चार्ज समेत थिए। पार्टीको नाम कमरेड परिवर्तन ।

‘मृतक व्यक्ति महावीर समूहमा लागेको खुलेपछि हामीले सोही अनुसार अनुसन्धान अघि बढायौं । जस क्रममा महाविर समूहै नेताहरु पक्राउ परे’ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी निरन्जनदत्त भट्टले भने।

प्रहरी अनुसन्धानका क्रममा अहिले महाविर समूहकै कपिलवस्तु जिल्ला इन्चार्ज र महिला विभाग प्रमुख पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेकपा (माओवादी) महावीर समूहको कपिलवस्तु जिल्ला सेक्रेटरी कमरेड भूमी भनिने रमेश श्रेष्ठ र कपिलवस्तुकै महिला विभाग प्रमुख कमरेड गीता भनिने मनकला थारू पक्राउ परेका छन्।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका-५ सेरनाका ४६ वर्षीय भूमी र कपिलवस्तुकै वाणगंगा नगरपालिका–२ तिनैयाकी ४६ वर्षीय गीताले चन्दाको विषयमा विवाद भएपछि परिवर्तनको हत्या गरेको खुलेको एसपी भट्टले बताए।

सम्बन्धित् समाचार