सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तु जिल्ला फुटबल लिगको उपाधिका लागि शान्ति सिर्जना क्लव र गोल्डेन स्टार युवा क्लव भिड्ने भएका छन् ।
विहिबार बाणगंगा नगरपालिकाको चारनम्बर जितपुरस्थित बुद्धरंगशालामा भएको दोस्रो सेमिफाईनल खेलमा मुहान एफसीलाई स्तब्ध पार्दै गोल्डेनले शान्ति सिर्जनासंगको फाईनल भेट पक्का गरेको हो ।
निकै रोमाञ्चक भएको यस खेलमा गोल्डेनले मुहानलाई ३–२ गोलले पराजित गरेको हो । तारजन माझी र सन्जु सेन ठकुरीको गोलमा सुरुवाती अग्रता लिएको मुहानले उक्त अग्रतालाई जोगाउन नसक्दाँ पराजित हुन पुग्यो ।

गोल्डेनका लागि निरज चौधरी, अरुन चौधरी र सुर्य थापा मगरले दोस्रो हाफमा एकपछि अर्को गोल गरेका हुन् । यस खेलमा मुहानका कुसन बुढा मगर ‘म्यान अफ दि म्याच’ घोषित भए ।

गोल्डेन समूह विजेता र मुहान समूह उपविजेता बन्दै सेमिफाईनलमा पुगेका थिए ।
लिगको उपाधिका लागि शान्ति सिर्जना र गोल्डेन स्टार शुक्रबार दिउँसो ३ बजे भिड्ने खेल संयोजक सुसिल सिंह ठकुरीले जानकारी दिए । उनका अनुसार शान्ति सिर्जनाले सुर्योदयलाई १–० गोलले पराजित गर्दै फाईनलमा पुगेको हो ।
कपिलवस्तु जिल्ला फुटबल संघका अध्यक्ष तिलक थापाले फाईनल खेल निकै रोमाञ्चक हुने बताउँदै उक्त खेलको अवलोकनका लागि सबैलाई आह्वान समेत गरेका छन् ।
कपिलवस्तु जिल्ला फुटबल संघको आयोजनामा कार्तिक ७ गतेदेखि सुरु भएको यस लिगमा जिल्ला भित्रका १० टोलीको सहभागिता रहेको थियो ।








