बुटवल ।
नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले रुपन्देहीमा ६ बिघामा सामूहिक खेती सुरु गरेको छ । बाँझो जग्गा उपयोग गरी पार्टीलाई आत्मनिर्भर बनाउने उद्देश्यले सामूहिक खेती सुरु गरेको सो पार्टीले जनाएको छ ।
सैनामैना नगरपालिका–५ गढवाको एक बिघा जमिनमा बिहीबार पार्टीका रुपन्देही इन्चार्ज वसन्त सी, सेक्रेटरी वीरेन्द्र सी लगायत नेता कार्यकर्ताले श्रमदान गर्दै आलु रोपेका छन् ।
आत्मनिर्भर नेता, आत्मनिर्भर कार्यकर्ता र आत्मनिर्भर देश बनाउने उद्देश्यअनुसार कृषि उत्पादनमा संलग्न भएको इन्चार्ज वसन्त सीले बताए ।
नेपाल कृषिप्रधान मुलुक भनिएपनि जग्गा बाँझो रहने तर वर्षेनी अर्बौंको कृषि उपज विदेशबाट आयात भइरहेकाले कृषिमा आत्मनिर्भर बनाउन सामूहिक खेती अघि बढाएको उनको भनाइ छ ।