बुटवल ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य ‘समन्वय र विकास’का विषयमा हुने छलफलका लागि चीनको तीनदिने भ्रमणमा जाने भएका छन् । उनको चीन भ्रमण र छलफलको तालिका मंगलबार देउखुरीमा बसेको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेको छ ।
सरकारका प्रवक्ता एवं कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीका अनुसार मुख्यमन्त्री आचार्य कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिचुआन प्रान्तमा हुने छलफलमा सहभागी हुने भएका हुन् । मुख्यमन्त्री आचार्यसँगै लुम्बिनी प्रदेश सरकारको ७ सदस्यीय टोली सहभागी हुनेछ । भ्रमण टोलीका सबै सदस्यको भ्रमण पनि मन्त्रिपरिषद्बाट स्वीकृत भएको पन्थीले बताए ।
सिचुआन प्रान्तमा ‘समन्वय र विकास’ विषयमा छलफल गर्न (नोभेम्बर ११ देखी १३) कात्तिक २६, २७ र २८ गते अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ । सम्मेलनमा भाग लिन मुख्यमन्त्री आचार्यसहित आर्थिक मामिला तथा योजनामन्त्री धनेन्द्र कार्की, प्रमुख सचिव महादेव पन्थलगायत ७ सदस्यीय टोली चीन जानेछ ।








