सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रम बिहिबार नगरपालिकाको आयोजना र नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुको समन्वयमा सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्ने वक्ताहरुले शिक्षामा गुणस्तरियताको अभाव, सडक पूर्वाधारको दिगोपना, कृषि औजारको असमान वितरण, बढ्दो सडक दुर्घटना, अटो रिक्साले भाडामा गरेको मनमानी, नदीजन्य पदार्थको चोरी, छाडा पशुचौपया व्यवस्थापन लगायतका समस्या उठान गरेका थिए ।
कार्यक्रममा उठेका प्रश्नहरुको जवाफ दिदैं नगरप्रमुख केशव कुमार श्रेष्ठले शिक्षामा गुणस्तरियता कायम गर्न नगरपालिका गम्भिर भएर लागेको बताएका छन् । निजी विद्यालयमा भन्दा सामुदायिक विद्यालयहरुमा केही लापारबाही भएको स्वीकार्दै उनले त्यसको सुधारका लागि अनुगमनलाई तीब्र पारिएको बताए ।

उनले आफ्ना बालबालिकाहरुको शैक्षिक अवस्था सुधार गर्न अभिभावक पनि गम्भिर हुनुपर्ने बताए । नगरप्रमुख श्रेष्ठले नगरपालिकाका ६ वडाहरुलाई हचुवाका भरमा नभई मापदण्ड पुरा गरेरै पूर्ण संस्थागत प्रसुति वडा घोषणा नगरिएको स्पष्ट पारे । उनले नगरपालिकाभित्र ५ वटा बर्थिङ्ग सेन्टर रहेको बताउँदै भने, ‘गर्भवतीहरुलाई बर्थिङ्ग सेन्टरसम्म सहजै पुग्न एम्बुलेन्ससंगै अटो रिक्सा पनि प्रयोग गर्न सकिने छ । त्यसबापत नगरले पाँच सय रुपैयाँ उपलब्ध गराउने छ ।’
अटो रिक्साहरुलाई व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि बढेको उनले बताए । गब्दहवा नदी, छाडा पशुचौपया व्यवस्थापनका लागि आवश्यक पहल भईरहेको उनले बताए । उनले नगरवासीलाई सहजै रगत उपलब्ध गराउन रेडक्रससंग समन्वय गरिएको बताए । नगरप्रमुख श्रेष्ठले नगरपालिकाको दिगो विकास र समृद्धि जनप्रतिनिधिको मात्र सरोकारको विषय नभएकाले सबैको सकारात्क साथ आवश्यक रहेको बताए ।
कार्यक्रममा नगरपालिकाको प्रगति प्रतिवेदन प्रस्तुत गर्दै जनस्वास्थ्य अधिकृत विष्णु देव खनालले यस आर्थिक बर्षको आन्तरिक राजस्वतर्फ जम्मा अनुमानित रकम रु.५ करोड ५० लाखमध्ये कार्तिक २५ गतेसम्म ६६ लाख ३६ हजार ५ सय १६ रुपैयाँ संकलन भएको जानकारी दिए । उनले कार्तिकसम्म चालुतर्फ १७.०५ र पुँजीगततर्फ ५.१९ प्रतिशत खर्च भएको बताए । उनले ९० प्रतिशत भन्दा बढी योजनाहरु ठेक्का प्रक्रिया गईसकेको जानकारी गराए । जनस्वास्थ्य अधिकृत खनाल विभिन्न शाखाका प्रगति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका नगर सभापति माधव दमासे, नेकपा एमालेका नगर अध्यक्ष ध्रुब न्यौपाने, नेकपा माओवादी केन्द्रका नगर अध्यक्ष रवि ठाकुर, बुद्धभूमि उद्योग बाणिज्य संघका अध्यक्ष सुभलाल भुसाल, बुद्धभूमि वन महासंघका अध्यक्ष ईन्द्रमणी, महिला नेतृ मिना केसी लगायतले आआफ्नो भनाई राखेका थिए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्यको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं.५ का अध्यक्ष रोमबहादुर थापाले स्वागत मन्तव्य राखेका थिए ।
वडाध्यक्ष, कार्यपालिका सदस्य, शाखा प्रमुख, टोल विकास समिति, समाजसेवी, बुद्धिजीविको उपस्थिति रहेको उक्त कार्यक्रममा पत्रकार मनिस कार्कीले नागरिक र बहिर्गमन अभिमत प्रस्तुत गरेका थिए ।







