भारतको उत्तर प्रदेश राज्यस्थित एक अस्पतालमा भएको आगलागीमा १० जना नवजात शिशुको मृत्यु भएको छ । झाँसीस्थित महारानी लक्ष्मीबाई मेडिकल कलेजमा शुक्रबारको राति भएको घटनामा ३५ शिशुको जीवितै उद्धार गरिएको अधिकारीहरूले जनाएका छन् । तीमध्ये १६ शिशुको अवस्था गम्भीर रहेको जनाइएको छ ।
आगलागीबाट उद्धार गरिएका शिशुहरूलाई सुरक्षित स्थानमा राखिएको जनाइएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार आइतबार बिहान घटनास्थल पुगेका उत्तर प्रदेशका उपमुख्यमन्त्री ब्रिजेश पाठकले आगलागीमा १० जना शिशुको दुखद् मृत्यु भएको जानकारी गराएका थिए । तीमध्ये ७ वटा शवको पहिचान भएको अन्य ३ शवको पहिचान हुन बाँकी रहेको उनले बताएका छन् ।
उपमुख्यमन्त्री पाठकले घटनामा घाइते १७ शिशुहरूको सोही अस्पतालको आपतकालीन कक्षमा उपचार भइरहेको जनाए । उनका अनुसार ७ जनाको निजी अस्पतालमा उपचार भइरहेको छ ।
पाठकले आगलागीको कारणबारे अनुसन्धान भइरहेको र दोषीप्रति कडा कारबाही गरिने प्रतिबद्धता जनाएका हिन्दुस्तान टाइम्सले जनाएको छ ।








