सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाको मुख्य बजार क्षेत्र चारनम्बर तौलिहवा सडकखण्डमा निर्माण गरिएका भगवान गौतम बुद्धको मुर्तिको अनावरण गरिएको छ । श्रृङ्गीघाट सामुदायिक वन उपभोक्ता समितिले निर्माण गरेका ३ वटा बुद्धको मुर्तिको आईतबार एक कार्यक्रमका बीच अनावरण गरिएको हो ।
पूर्वप्रतिनिधि सभा सांसद तथा नेपाली कांग्रेसका नेता अत्तहर कमाल मुसलमान, वनका अध्यक्ष सुसिल सिंह ठकुरी, वडा नं.१ का वडाध्यक्ष सन्जु कुमार सारु, वडा नं.४ का वडाध्यक्ष छविलाल रेस्मी मगरले संयुक्त रुपमा मुर्तिको अनावरण गरेका हुन् ।
वनको बार्षिक स्वीकृत कार्यक्रम अन्तर्गत चारनम्बर तौलिहवा सडकखण्डमा बुद्धको मुर्ति निर्माणसंगै सडक सौन्दर्यीकरणको काम गरिएको वनकी सचिव कमला सेन ठकुरी ‘सुष्मा’ ले बताईन् । पूर्वप्रतिनिधि सभा सांसद मुसलमानले श्रृङ्गीघाट सामुदायिक वनले विगत केही बर्षदेखि यस क्षेत्रमा उदाहरणीय काम गर्दै आएको भन्दै खुशी व्यक्त गरे ।
उनले स्थानीय सरकारले गर्ने काम एउटा वनले संचालन गरेको बताए । वनले निर्माण गरेको मुर्ति र सडक सौन्दर्यीकरणले यस सडक क्षेत्रलाई अझ सुन्दर र स्वच्छ बनाएको उनले बताए । उनले वनको स्रोत साधनलाई यस्तै उदाहरणीय काममा खर्चिन आग्रह समेत गरे । वडाअध्यक्ष सन्जु कुमार सारु र छविलाल रेस्मी मगरले बाणगंगाको मुटु मानिने यस चारनम्बर क्षेत्रलाई सुन्दर, स्वच्छ र आकर्षक बनाउने अभियानमा सबै लाग्नुपर्ने बताए । सोही क्रममा श्रृङ्गीघाट सामुदायिक वनले गरेको यो काम अन्य वन तथा स्थानीय सरकारकै लागि उदाहरण भएको भन्दै खुशी व्यक्त गरे ।
वनका अध्यक्ष सुसिल सिंह ठकुरीले बाणगंगाका सडक क्षेत्रलाई सुन्दर र सफा बनाउने अभियानमा आफुहरु लागेको बताए । सोही अनुरुप बुद्धको मुर्ति निमाण र सडक सौन्दर्यीकरणको कामलाई सम्पन्न गरेको र आगामी दिनमा यस्ता कामलाई निरन्तरता दिने उनले प्रतिवद्धता जनाए । बाणगंगाको विकास र समृद्धिमा वनहरुले महत्वपूर्ण योगदान दिनसक्ने उनको भनाई छ ।
बाणगंगा नगरपालिकाको वडा नं.१, ३, ४ र ५ मा अवस्थित यस वनले पछिल्ला बर्षमा सामाजिक क्षेत्रमा उदाहरणीय काम गर्दै आएको छ ।