सागर वि.क., वैखरी अनलाईन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाले ‘पूर्ण सरसफाई नगर’ बनाउने अभियान सुरु गरेको छ । बाणगंगाले आर्थिक बर्ष २०८१/०८२ को निति तथा कार्यक्रममै समावेश गरेको यस अभियानको थालनी सोमबार पहिलो बैठक बसेर औपचारिक रुपमै सुरु गरेको हो । उक्त बैठकमा प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनीले यस अभियानको बारेमा बिफ्रिङ गरेका थिए ।
उनले पूर्ण सरसफाई सम्बन्धि विभिन्न ७ वटा सुचकहरु पुग्न पुरा गर्नुपर्ने बताए । जहाँ यस अभियान अन्तर्गत ८० प्रतिशत सुचकहरु सजिलै पुरा गर्न सक्ने अवस्था रहेको उनले दाबी गरे । उनले राजमार्ग आसपासका वडाहरुलाई घोषणा गर्दै क्रमिक रुपमा नगर अघि बढ्ने बताए ।
नगरप्रमुख चक्रपाणी अर्यालले विगतमा सडक पूर्वाधार निर्माणमा नगरको लगानी केन्द्रित भएको स्मरण गर्दै अब नगर पूर्वाधार विकाससंगै सामाजिक विकासमा अग्रसर हुने दिशातर्फ अघि बढेको बताए ।
सामाजिक विकासका लागि जनस्तरबाटै सहयोग आवश्यक रहेको बताउँदै उनले भने, ‘भौतिक पूर्वाधार निर्माणमा भन्दा सामाजिक विकासमा जनताको सहयोग बढी आवश्यक पर्छ, अन्यथा त्यसका लागि विनियोजित बजेट फ्रिज हुने स्थिति आउन सक्छ ।’ जनताको जीवनस्तर माथि उकास्न अब नगर केन्द्रित हुने उनको भनाई छ । उनले नगरको यस अभियानलाई साथ दिई सार्थक तुल्याउन सबैलाई आह्वान समेत गरे । नगरप्रमुख अर्यालले फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि जग्गा प्राप्तिका लागि बर्षौदेखि लागेको भएता पनि त्यसले पूर्णता पाउन नसकेको स्मरण गर्दै भने, ‘हालसम्म जग्गा प्राप्त भएको भए त्यसले पूर्णता पाएर बनिसकेको हुने थियो ।’
ल्याण्ड फिल्ड साईट निर्माणको विषय आम स्थानीय जनतालाई बुझाउन नसकिएको उनले स्वीकार गरे । ‘ल्याण्ड फिल्ड साईट बने पुरै गाउँ नै दुर्गन्धित हुन्छ भन्ने आम जनताको बुझाई छ । यसलाई चिर्न जरुरी छ,’ उनले भने ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नगरसभापति विष्णु थापा, भुपुसैनिक खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष राजेन्द्र विक्रम शाह, बाणगंगा खानेपानी तथा सरसफाई उपभोक्ता समूहका अध्यक्ष विश्व कार्की लगायतले नगरको पूर्ण सरसफाई अभियान अभियानलाई पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता जनाए ।
उनीहरुले पूर्ण सरसफाईका कार्यक्रमलाई निरन्तर रुपमा संचालन गर्न सुझाव दिए । त्यसका लागि वडासंगै टोल विकास समितिलाई सक्रिय बनाएर अघि बढ्न आवश्यक रहेको उनीहरुको भनाई छ । उनीहरुले राजनितिक दलको लडाईले हालसम्म पनि फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण हुन नसकेको बताएका थिए । कामको जस कसले लिने ? लिने विषयले विकास निर्माणका काम अवरुद्ध हुनु दुखत भएको उनले बताए ।
उनीहरुले अभियानको थालनी बाणगंगका मुख्य बजार क्षेत्रबाट गर्न सुझाव दिएका थिए ।
यसैबीच बाणगंगा नगरपालिका वडा नं.२ मा पूर्ण सरसफाई तथा पोषणयुक्त वडा घोषणाका लागि सरोकारवालाहरुसंग अन्तरक्रिया गरिएको छ ।