गृहपृष्ठ कपिलवस्तु बिशेष १५औं कपिलवस्तु महोत्सव : खुल्ला महिला भलिबलदेखि सचेतनामूलक नाटकसम्मको चर्चा

१५औं कपिलवस्तु महोत्सव : खुल्ला महिला भलिबलदेखि सचेतनामूलक नाटकसम्मको चर्चा

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

यही मंसिर १९ गतेदेखि सुरु हुने १५औं कपिलवस्तु महोत्सवमा शैक्षिक गतिविधिलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिईएको छ । महोत्सवको आयोजक संस्था कपिलवस्तु उद्योग बाणिज्य संघले बुधबार सामुदायिक तथा निजि विद्यालयका प्रमुखहरुसंग गरेको अन्तरक्रिया कार्यक्रम बोल्ने वक्ताहरुले शैक्षिक गतिविधिलाई व्यवस्थित बनाउनुपर्नेमा जोड दिएका हुन् ।

कपिलवस्तु महोत्सव जिल्लाकै शानको रुपमा स्थापित भएकाले शैक्षिक गतिविधिलाई नविन तवरले व्यवस्थित गर्दै लैजानुपर्ने उनीहरुको भनाई छ । शैक्षिक प्रदर्शनी, विभिन्न विद्यामा अन्तरविद्यालय प्रतियोगिता, विद्यार्थी, अभिभावकलाई प्रवचन, विधार्थीमैत्री वातावरण निर्माण गर्नुपर्ने उनीहरुका सुझाव छ ।

बाणगंगा नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख खिम बहादुर जिसीले महोत्सव स्थलमै खुल्ला महिला भविबल, डोरीतान, कराँते जस्ता प्रतियोगिता गर्न सकिने बताए । यसले महोत्सवलाई थप नयाँपन प्रदान गर्नुका साथै महिलालाई खेलकुद क्षेत्रमा लाग्न प्रेरणा मिल्ने उनको विश्वास छ । उनले बाणगंगा नगरपालिका क्षेत्रमा लागुपदार्थ दुव्र्यशनी तथा कुलतमा फस्ने युवायुवतीको संख्या बढ्दो मात्रामा रहेको भन्दै यस सम्बन्धि सचेतना जगाउन नाटक प्रस्तुत गर्न सकिने बताए । उनले यस्तो नाटकले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाई छ । उनले महोत्सवलाई सफल बनाउन नगरपालिका सम्बद्ध शैक्षिक संस्था परिचालन गर्ने प्रतिवद्धता समेत जनाए ।

१५ औं कपिलवस्तु महोत्सवका संयोजक समेत रहेका संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले शैक्षिक क्षेत्रमा भएका नविन अभ्यास प्रदर्शन गर्ने महत्वपूर्ण स्थलका रुपमा महोत्सव स्थापित हुने बताए । यस क्षेत्रमा रहेका होटल म्यानेजमेन्टका विधार्थीहरु ईच्छुक भए संघले महोत्सव स्थलमा निशुल्क स्टल उपलब्ध गराउने उनले प्रतिवद्धता जनाए । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न निशुल्क स्टलको व्यवस्था मिलाईएको बताउँदै उनले स्थानीयलाई मुख्य प्राथमिकता दिईएको बताए । उनले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महोत्सवले महत्वपुर्ण भूमिका निर्वाह गर्ने बताए ।

महोत्सवका निर्देशक हुमानाथ पौडेलले यस पटक महोत्सवको गुणस्तरियतामा विशेष ध्यान दिईएको बताए । लुम्बिनी प्रदेशकै पहिलो वृहत महोत्सव बनाउने गरि आफुहरुले काम गरेको उनले बताए । सोही अनुरुप १२ वटै जिल्लाका स्थानीय उत्पादनलाई महोत्सव स्थालमा ल्याई प्रदर्शन गर्ने वातावरण बनाउन लागेको उनले बताए ।

संघका निवर्तमान अध्यक्ष डोलकराम घिमिरेले सुरुवाती चरणमा डान्स आईडलतर्फ केही विकृति देखिए पनि पछिल्लो समय क्रमश सुधार हुदैं गएको बताए । हरेक वर्गका प्रतिभावान प्रतिस्पर्धी नै आईडलको विजेता बनेको उदाहरण रहेको उनले स्मरण गरे । स्थानीय उत्पादनको प्रवद्र्धन, संवद्र्धन र बजारीकरणमा कपिलवस्तु महोत्सवले महत्वपूर्ण योगदान निर्वाह गर्दै आएको उनले बताए ।

डान्स आईडल संयोजक विष्णु मल्लले विगतमा भन्दा यस बर्ष नृत्यतर्फ चासो र रुचि राख्नेहरुमा कमी आएको बताईन् । उनले यस क्षेत्रका हरेक विद्यालयलाई आफ्नो विद्यालयबाट आईडलमा सहभागी गराउन सहजीकरण गरिदिन आग्रह गरिन् ।

उक्त कार्यक्रम शैक्षिक संस्था समन्वय संयोजक बासुदेव घिमिरेको संचालनमा सम्पन्न भएको हो ।

“सक्षम व्यवसायी, समुन्नत राष्ट्र र आत्मनिर्भर अर्थतन्त्र” भन्ने मूल नारासहित यही मंसिर १९ देखि पुष २ गतेसम्म १५ औं कपिलवस्तु महोत्सव बाणगंगाको चारनम्बर जीतपुरमा अवस्थित बुद्धरंगशालामा हुदैं छ ।

सम्बन्धित् समाचार