सागर वि.क., वैखरी अनलाईन ।
राष्ट्रिय दलित आयोगका सदस्य सुन्दर पुर्कुटीले संविधानमा लेखिएका दलितका हक अधिकार पूर्ण रुपमा कार्यान्वयन नहुँदा दलित समुदाय अन्यायमा पर्ने गरेको बताएका छन् । कपिलवस्तुको बाणगंगा नगरपालिकाको कार्यालयमा विहिबार भएको अन्तरक्रिया तथा छलफलमा पुर्कुटीले विगतमा भन्दा हाल जातीय भेदभाव र छुवाछूतका घटना कम सुनिएपनि पूर्ण रुपमा भने अन्त्य नभएको उनले बताएका हुन् ।
दलितको अधिकार दलितले पाउन नसकेको बताउँदै उनले भने, ‘दलितको हक अधिकार संविधानमा लेखिएको छ । तर पूर्ण रुपमा कार्यन्वायन नहुदा दलित वर्गमाथि ठुलो अन्याय भयो ।
उनले दलित समुदायका व्यक्तिहरु आफुलाई हिनताबोध हुने नाम र थर सच्याउन आए राष्ट्रिय दलित आयोगले सूचीकृत गरेका थरहरुभित्र रहेर निर्वाध रुपमा सहजीकरण गरिदिन आग्रह पनि गरे । जातीय भेदभाव र छुवाछूत जस्तो कुप्रथाको अन्त्यका लागि राष्ट्रिय दलित आयोगले सरकारलाई विभिन्न तवरबाट झक्झकाउने गरेको उनले बताए ।
उनले दलित शसक्तिकरण ऐन बनाएर पालिकाहरु अघि बढ्नुपर्ने बताए । वर्तमान अवस्थामा पनि विभिन्न क्षेत्रमा जातीय विभेदका घटनाहरु हुनु आफैमा दुखद भएको बताउँदै उनले यसको उन्मुलनका लागि सबै सरोकारवाला पक्ष एकबद्ध भएर लाग्नुपर्नेमा जोड दिए ।
बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले दलितप्रतिको हरेक विभेद अन्त्य गर्न नगर प्रतिवद्ध रहेको बताए । बाणगंगा नगरपालिकाको न्यायिक समितिमा हालम्म जातीय छुवाछुत तथा अन्य विभेद सम्बन्धी उजुरी नआएको उनले बताए । उनले बाणगंगालाई दलितमैत्री नगर बनाउने दिशातर्फ आफुहरु लाग्ने जिकिर समेत गरे । त्यसका लागि सरोकारवालाहरुसंगको छलफल अन्तरक्रियालाई तीब्रता दिदैं काम गर्ने उनको भनाई छ । नगर प्रमुख अर्यालले बाणगंगामा सामाजिक क्षेत्रसंगै सार्वजनिक स्थलमा कुनै पनि किसिमको विभेद नभएको दाबी गरे ।
नगरउपप्रमुख रिता कुमारी चौधरी, प्रमुख प्रशासकिय अधिकृत भक्तिराम मरासिनी लगायतले बाणगंगालाई दलितमैत्री बाणगंगा बनाउनुपर्नेमा जोड दिएका थिए । उनीहरुले समाजमा पौराणिक समयदेखि जरा गाडेर बसेको जातीय विभेदलाई निमिट्यान्न पार्न दलित र गैरदलित दुवै लाग्नुपर्ने बताए ।
जरा गाडेर बसेको विभेदलाई जरैदेखि उखुल्न अहिलेको पुस्ताले हिम्मत गर्नुपर्ने भन्दै उनीहरुले दलित समुदायले पनि आफ्नो शिक्षा, स्वास्थ्य र रोजगारमा क्षमता अभिवृद्धि गर्दै सक्षम बन्नतर्फ लाग्नुपर्ने उनीहरुले बताए । नगरपालिकाले जातीय विभेदको अन्त्यका लागि आफ्ना संयन्त्रहरु प्रयोग गरी समुदायस्तरमा चेतनामूलक कार्यक्रमहरु समेत सञ्चालन गर्दै आएको बताए ।








