बाणगंगा, वैखरी अनलाईन ।
अन्तर्राष्ट्रिय रूपमा १६ दिनसम्म मनाइने लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सोमबार आजदेखि सुरु भएको छ । ‘हामी सबैको प्रतिबद्धताः लैंगिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता’ भन्ने राष्ट्रिय नारासहित कपिलवस्तुको बाणगंगा नगरपालिकामा सचेतनामूलक प्रभात फेरी गर्दै अभियान सुरु भएको नगरपालिकाकी महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखाकी प्रमुख सुसिला पन्थले बताईन् ।

अभियानले लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउँदै हिंसाको शिकार भएकाहरूको अधिकारको संरक्षण गर्ने र समाजमा लैङ्गिक समानता तथा न्यायको स्थापना गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने उनको भनाई छ । अभियानका मागहरूमा सबै प्रकारका भेदभावपूर्ण नीति, अभ्यास र मूल्यमान्यता तत्काल खारेज तथा सामाजिक रूपान्तरणका लागि समुदायिक तहदेखि राष्ट्रिय तहसम्म अभियान सञ्चालन गर्नुपर्ने लगायत रहेको उनले बताईन् ।

बाणगंगा नगरपालिकाका नगरप्रमुख चक्रपाणी अर्यालले महिला हिंसाविरुद्धको अभियान जनस्तरमा जागरूकता फैलाउने र महिला हिंसा न्यूनीकरण गर्ने कार्यमा सबै सरकारी तथा गैरसरकारी संस्थाहरूसँग समन्वय आवश्यक रहेको बताए । नगरप्रमुख अर्यालले महिला हिंसा, यौन हिंसा, बलात्कार तथा घरेलु हिंसालगायतका घटना सहेर नबस्न समेत आग्रह गरे ।
दिवस र अभियानको सफलताका लागि सबैले लैङ्गिक हिंसा नगर्ने र हिंसा नसहने प्रतिबद्धता गर्नुपर्ने उनले बताए । उनले लैङ्गिक हिंसा अन्त्यका गर्न नगरपालिका प्रतिवद्ध रहेको बताउँदै सो अनुरुपका निति ल्याई कार्यान्वयन गरिने बताए ।
बाणगंगालाई पूर्ण सरसफाईयुक्त नगरपालिका बनाउने अभियानमा आफुहरु जुटेको बताउँदै उनले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमै सरसफाईको क्रियाकलापलाई समेत जोडेको बताए ।

उपप्रमुख रिता कुमारी चौधरीले नेपालको संविधानमा महिलाको हकको छुट्टै व्यवस्था गरेको भए पनि अझै महिला हिंसामा अपेक्षित रुपमा कमी आउन नसकेको बताइन् ।
अभियानका क्रममा नेपालको संविधान २०७२ र संविधानको धारा ३८ को महिलाको हक पूर्ण रुपमा कार्यान्वयन गर्नुपर्ने, राज्यले अन्तर्राष्ट्रियस्तरमा जनाएको प्रतिबद्धता तथा कानुनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेबारे उनको भनाई छ । उनले बाणगंगा नगरपालिकामा लैङ्गिक हिंसाको अवस्था गुणात्मक रुपमा सुधारात्मक दिशातर्फ रहेको बताईन् ।

लैङ्गिक रूपमा हुने हिंसा नियन्त्रणको लागि विश्वव्यापी अभियानको रूपमा लिइने यो दिवस मंसिर १० देखि सुरु भएर मंसिर २५ अर्थात् नोभेम्वर २५ देखि डिसेम्बर १० सम्म मनाइने गरिन्छ ।








