रुपन्देही ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा कमजोर दृश्य क्षमता (भिजिबिलिटी) मा पनि उडान सञ्चालन गर्न भू-उपग्रहमा आधारित प्रविधि आरएनपी एआर जडानको तयारी अघि बढेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हिउँदमा हुने कमजोर ‘भिजिबिलिटी’ मा पनि जहाज उडान र अवतरण गराउन माघ महिनाभित्रै आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको छ ।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले भने, ‘अहिले भैरहवामा पाँच वटा हवाई कम्पनीले हप्तामा २४ उडान गरिरहेका छन् । अहिले भइरहेको उडानलाई नियमित राख्न ८०० मिटर भिजिबिलिटीमा पनि अन्तर्राष्ट्रिय जहाज उडान अवतरण गराउन सक्नेगरी प्रविधिमा आधारित प्रणाली )इन्स्ट्रुमेन्टल ल्यान्डिङ सिस्टम, आईएलएस क्याट टु) को विकल्पमा आरएनपी एआर प्रविधि जडानको तयारी अघि बढेको हो ।’
आरएनपीएआर जडानका लागि अन्तर्राष्ट्रियस्तरमा सूचना जारी गर्नुपर्ने भएकाले एक महिनाभित्र अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)बाट स्वीकृति लिएर काम पूरा गर्ने गरी प्रक्रिया अघि बढेको उनले जानकारी दिए ।