रुपन्देही ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि पर्यटन व्यवसायले फड्को मार्ने चरणमा रहेको बताउँदै सरोकारवालाले सोहीअनुसारको पर्यटन पूर्वाधारमा लगानी बढाउन जोड दिएका छन् ।
उनीहरुले लुम्बिनी आउने पर्यटकलाई लुम्बिनी पर्यटन सर्किटको माध्यमबाट प्रदेशभर भ्रमणको वातावरण बनाउनुपर्ने र विमानस्थललाई दीर्घकालीन रुपमा पूर्ण क्षमताले चलाउने योजना बनाउन सरकारलाई आग्रह गरेका छन् ।
नेपाल चेम्बर लुम्बिनी र टक्सार मिडिया ग्रुपको संयुक्त आयोजनामा भएको ‘भैरहवामा गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना’ विषययक छलफल कार्यक्रम उनीहरुले विमानस्थल चलायमान हुँदा बेग्लै आशाको सञ्चार भएको र यसलाई कायम राख्दै दिगो बनाउन जोड दिए ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित हवाई उडानका लागि भिसा स्वीकृति, श्रम स्वीकृति, स्वास्थ्य परीक्षणको काम यहीबाट गर्नेगरी प्रदेश सरकारले पहल लिएको बताएका छन् ।