सागर वि.क., वैखरी अनलाईन ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कपिलवस्तुको बाणगंगा नगरपालिकाका विभिन्न क्षेत्रको अवलोकन गरेका छन् । मुख्यमन्त्री आचार्यले आईतबार मधवुन क्षेत्रमा रहेको गौशाला, कजवे पुल र हथौसामा रहेको कृषि उपज केन्द्रको अवलोकन गरेका हुन् । मुख्यमन्त्री आचार्यलाई नगरप्रमुख चक्रपाणी अर्यालले यी क्षेत्रको बारेमा बिफिङ्ग गरेका थिए ।
नगरप्रमुख अर्यालले मधवुन क्षेत्रमा रहेको गौशाला निर्माणको क्रममा सुरुवाती चरणमा वनसंग पटकपटक विवाद भएको स्मरण गर्दै करिब ४ करोडको संरचना निर्माण गरिसकिएको बताएका थिए ।
चालु आर्थिक बर्षमा गौशाला व्यवस्थापनका लागि ७५ लाख नगरले विनियोजन गरेको उनले जानकारी गराए । उनले अहिले मुख्यतः गौशालामा खानेपानीको समस्या देखिएको भन्दै त्यसका लागि डिप बोर्डिङ्ग उपलब्ध गराएर प्रदेश सरकारले आवश्यक सहयोग गर्न आग्रह गरे । उनले गौशालामा रहेका छाडा पशुचौपयाको व्यवस्थापनका लागि १५ जना हेरालु राखिएको जानकारी दिए ।
मुख्यमन्त्री आचार्यले छरिएर रहेका गाईहरुलाई एकिकृत गरेर भावी दिनमा नश्लसुधार गर्दै अनुसन्धान केन्द्रको रुपमा स्थापित गर्न सकिने बताए । उनले भारतीय बजारमा गएर २ लाखसम्मको लगातमा गाईहरु खरिद गरेर ल्याउने गरिएको बताउँदै त्यस्ता प्रकृतिका गाईहरु यस क्षेत्रमै उत्पादन गर्न सकिने बताए । गौशालामा पालिएका गाईलाई पानी खुवाउन र भएको जमिनमा सिंचाई गर्न भएको समस्या समाधान गर्न प्रदेश सरकारले आवश्यक पहल कदमी लिएर बजेट विनियोजन गर्ने उनले प्रतिवद्धता जनाए ।
लुम्बिनी प्रदेश सरकारले छाडा पशु चौपायाको समस्या समाधान गर्न दिर्घकालिन योजनालाई प्राथमिकतामा राखेको उनले बताए । एकिकृत गरेर गौशालामा पशुचौपाया पाल्ने, नश्ल सुधार गरेर उत्पादन क्षमता बढाउने, जैविक मल उत्पादन र प्रयोगलाई प्राथमिकतामा राख्ने उनले बताए । मुख्यमन्त्री चेतनारायण आचार्यले छाडा पशुचौपायाको समस्या समाधान गर्न समुदाय स्तरमा एकिकृत गौशाला निर्माण गरेर नश्ल सुधार गर्ने र उत्पादन क्षमता बढाउने सम्मका योजना अघि सारिने बताए ।
उत्पादन दिन छाडेपछी पशुचौपायालाई छाडा छोड्ने समस्या बढ्दो रहेको उनले बताए । गौशालामा पालिएका पशुचौपायाबाट दुध उत्पादन बढाउन सकिने, गाईको गोवर, पिसाव संकलन गरेर प्राकृतिक मल बनाउन सकिने बताए । छाडापशुचौपया व्यवस्थापन गर्न बाणगंगा नगरपालिकाले अथक प्रयासले गरेको भन्दै खुशी समेत व्यक्त गरे ।
मुख्यमन्त्री आचार्यले भत्किएको कजवे पूलको निर्माणका लागि केन्द्र सरकार समक्ष बजेट माग समेत गर्ने प्रतिवद्धता जनाए । उनले हथौसामा रहेको कृषि उपज केन्द्रलाई जतिसक्ने छिटो संचालनमा ल्याउनुपर्ने बताउँदै त्यसका लागि प्रदेश सरकारले पूर्ण रुपमा सहयोग गर्ने प्रतिवद्धता समेत जनाए । अवलोकनका क्रममा मुख्यमन्त्री आचार्य नन्दनगरमा रहेको मनकामना गुरुकुलमा समेत पुगेका थिए ।
प्रदेश सांसद गिरधारीलाल न्यौपाने, उपप्रमुख रिताकुमारी चौधरी, नगरप्रवक्ता विष्णु प्रसाद पौडेल, वडाध्यक्षहरु दुनिका भुसाल, विष्णु गिरी, बाबुराम अर्याल, कमल पौडेल लगायतका जनप्रतिनिधिले यी क्षेत्रका समस्या समाधानमा प्रदेश सरकारले प्राथमिकता दिएर काम गर्नुपर्ने बताएका थिए ।