गृहपृष्ठ Featured निजी क्षेत्रलाई राज्यले रातो कर्पेट बिछ्याएर स्वागत गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

निजी क्षेत्रलाई राज्यले रातो कर्पेट बिछ्याएर स्वागत गर्नुपर्छ : पर्यटनमन्त्री पाण्डे

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रलाई राज्यले रातो कर्पेट बिछ्याएर स्वागत गर्नुपर्ने बताएका छन् । विदेशी, एनआरएन र स्वदेशीहरुको लगानी भित्राउन सकेमात्र देश सहि बाटोमा अगाडि बढ्न सक्ने उनको भनाई छ । मन्त्री पाण्डेले बुधबार १५औं कपिलवस्तु महोत्सवको उद्घाटन गर्दै यस्तो बताएका हुन् ।

 

उनले राज्यले निजी क्षेत्रका लागि लगानीमैत्री वातावरण सिर्जना गर्ने प्रयास गरिरहेको बताए । ‘निजी क्षेत्रलाई खुम्चाउने होईन् बढाउने हो, त्यसका लागि राज्यले लगानीमैत्री वातावरण बनाउनुपर्छ,’ उनले भने ।

निजी क्षेत्रको साथ बिना सरकारले मात्र पर्यटन क्षेत्रलाई अगाडि बढाउन नसक्ने उनको भनाई छ । ‘निजी क्षेत्र अघिअघि सरकार पछिपछि भयो भने मात्र पर्यटन क्षेत्रलाई अगाडि बढाउन सकिन्छ,’ उनले भने ।

विविधतापूर्ण र्सस्कृतिले नेपाल भरिपूर्ण रहेको बताउँदै उनले वास्तवित शान्तिको खोजीका लागि विश्वभरका मानिस लुम्बिनी क्षेत्रमा आउने गरेको बताए । लुम्बिनी क्षेत्रलाई पर्यटनका दृष्टिकोणले सोचेअनुरुप निर्माण गर्न नसकिएको उनले बताए । उनले तीनै तहका सरकारले एकिकृत रुपमा काम गर्नुपर्ने आवश्यकता रहेको बताए ।

उनले विविधतापूर्ण सँस्कृति र प्रकृतिलाई चलायमान बनाउन पूर्वाधार विकासमा जोड दिनुपर्ने बताए । उनले पर्यटन क्षेत्रको विकासले रोजगारीका अवसर सिर्जना गर्नुका साथै राष्ट्रको जिडिपीमा ठूलो योगदान दिने बताए । कपिलवस्तु महोत्सवले कृषि, पर्यटन र औद्योगिकरणको क्षेत्रमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । कांग्रेस र एमाले मिल्दैमा अन्य दलले चिन्ता गर्नुपर्ने कुनै कारण नरहेको उनले बताए ।

उनले दुई ठूला राजनितिक दल मिल्नुको अर्थ अन्य दललाई खुम्चाउने नभएको समेत स्पष्ट पारे । देशको अर्थतन्त्र कमजोर अवस्थामा रहेको भन्दै उनले सम्पूर्ण राजनितिक दलले एकता प्रदर्शन गर्न सकेमात्र देशको अर्थतन्त्र सुदृढ हुन सक्ने बताए । ‘८४ को चुनावमा स्वच्छ प्रतिस्पर्धा गरौंला,’ उनले भने, ‘त्यसबेलासम्म हामीले देशको अर्थतन्त्र चलायमान बनाउँछौं ।’

प्रतिनिधि सभा सांसद सुरेन्द्रराज आचार्य, पूर्वप्रतिनिधि सभा सांसद अत्तहर कमाल मुसलमान, लुम्बिनी प्रदेश सांसद विष्णु पन्थी, बाणगंग नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरी लगायतका वक्ताहरुले कपिलवस्तु महोत्सवले यस क्षेत्रको उद्योग, व्यापार, पर्यटन, भेषभूषा, कला, संस्कृति, ऐतिहासिक स्थलको संरक्षण तथा प्रवद्र्धन गर्न महत्वपुर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका थिए ।

बुधबार आज उद्घाटन गरिएको यस महोत्सवमा २ लाख दर्शन भित्राउँदै करिब १० करोडको आर्थिक कारोबार गर्ने आयोजकले लक्ष्य लिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा आज बुधबारदेखि सुरु भएको १५औँ कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी आगामी पुष २ गतेसम्म चल्ने छ ।

सम्बन्धित् समाचार