गृहपृष्ठ कपिलवस्तु बिशेष बाणगंगामा कपिलवस्तुमै पहिलोपटक कपडा बैंक स्थापना : राजेश हमालले गरे शुभारम्भ

बाणगंगामा कपिलवस्तुमै पहिलोपटक कपडा बैंक स्थापना : राजेश हमालले गरे शुभारम्भ

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बाणगंगा नगरपालिकाले कपडा बैंक स्थापना गरेको छ । आईतबार महानायक राजेश हमालले १५ औं कपिलवस्तु महोत्सवमा राखिएको संकलन बक्स खोली बैंकको शुभारम्भ गरेका हुन् । नगरपालिकाले क्लोथ एण्ड फूड बैंक नेपालसंगको सहकार्यमा कपडा बैंकको स्थापना गरेको हो ।

कपडा बैंकको उद्घाटन गर्दै हमालले लत्ता कपडाको अभाव झेलिरहेका गरिब तथा विपन्नहरुलाई कपडा बैंक बरदान सावित हुने बताए । चाहिनेभन्दा बढी तथा प्रयोगमा नआएका लत्ता कपडा भएकाहरुले कपडा बैंकमा कपडाहरु राख्न सक्ने र चाहिनेहरुले आवश्यकताअनुसार कपडा बैंकबाट कपडा लैजान सक्ने उनले स्पष्ट पारे ।

उनले कपडा बैंकमा प्राप्त कपडाहरुलाई प्रोशोधन गरेर स्वस्थ बनाएर विवरण गरिने समेत जानकारी दिए । दैवी प्रकोप आएका कुनै पनि क्षेत्र तथा विद्यालयमा लत्ताकपडा आवश्यक परे कपडा बैंकलाई सम्पर्क गर्न सकिने उनले बताए । उनले यो सामाजिक कार्यमा सबै साथ सहयोग प्राप्त हुने समेत विश्वास व्यक्त गरे ।

नगरप्रमुख चक्रपाणी अर्यालले मानवीय तथा सामाजिक कार्यअन्तर्गत कपडा बैंकको स्थापना गरिएको बताए ।

उनले सबैले आफ्ना पुराना कपडाहरू कपडा बैंकमा जम्मा गरी पर्यावरणमा पर्ने नकरात्मक असरलाई समेत न्यूनीकरण गर्न सकिने बताए ।

उनले बाणगंगामा एकतहको भौतिक विकास भईसकेको बताउँदै अब सामाजिक विकास, मानवीय विकास र चेतनाको विकासमा आफुहरुको जोड रहेको स्पष्ट पारे । उनले नगरपालिकाका ११ वटै वडामा कपडा बैंक स्थापना गर्ने योजना रहेको सुनाए ।

उक्त कार्यक्रममा उपप्रमुख रिताकुमारी चौधरी, कपिलवस्तु उद्योग बाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्री, कमल जिसी लगायतको सहभागिता रहेको थियो । बाणगंगा नगरपालिकामा जिल्लामै पहिलोपटक कपडा बैंक स्थपना गरिएको हो ।

सम्बन्धित् समाचार