गृहपृष्ठ कपिलवस्तु बिशेष कपिलवस्तुको बुद्धभूमिमा राष्ट्रपति रनिङ शिल्ड र मेयर कप सुरु

कपिलवस्तुको बुद्धभूमिमा राष्ट्रपति रनिङ शिल्ड र मेयर कप सुरु

प्रकाशित मिति:

सागर वि.क., वैखरी अनलाईन ।

कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा राष्ट्रपति रनिङ शिल्ड र मेयर कप प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको मंगलबार प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गर्नुभएको हो ।

सो क्रममा आचार्यले यो प्रतियोगिता खेलाडीका लागि आफ्नो प्रतिभा प्रस्फुटन गर्ने सुनौलो अवसर भएको बताए । उनले खेलकै माध्यमबाट नेपाललाई विश्वभर चिनाउन सकिने बताए । उनले खेलाडीलाई आवश्यक सेवा सुविधा दिएर उनीहरुको खेल सिपलाई थप विकास गर्न सकिने बताए । नगर र विद्यालयले प्रशिक्षक, खानपान, पोसाक तथा आवश्यक सामग्रीको उचित व्यवस्थापन गर्न सके यस क्षेत्रका खेलाडी राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरको खेलाडी बन्न सक्ने उनको भनाई छ ।

उनले सबैले खेललाई थप महत्व दिनुपर्ने बताउँदै खेलकै माध्यमबाट आफुलाई अन्तरराष्ट्रिय स्तरमै स्थापित गर्न सकिने बताए । उनले बुद्धुभुमि नगरपालिकामा रङ्गशाला निर्माणका लागि आवश्यक पहल गरिरहेको बताए । उनले जारी एनसिएलमा नेपाली खेलाडीहरुले प्रदर्शन गरिरहेको खेल प्रसंशनीय भएको भन्दै खुशी समेत व्यक्त गरे ।

नगरप्रमुख केशव कुमार श्रेष्ठले नगरपालिकाले खेलकुद क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउँदै सोही अनुरुप प्रत्येक बर्ष यस्ता प्रतियोगिता आयोजना गरिदैं आएको स्पष्ट पारे । उनले यस प्रतियोगितका लागि वडा तहमा विभिन्न प्रतियोगिता सम्पन्न गर्न आफुहरुले निर्देशन दिएको स्मरण गरे ।

 

नगरले खेलाडीको प्रतिभा प्रस्फुटन र उनीहरुको व्यक्तित्व विकास लागि योजनाबद्ध तवरले काम गरिरहेको उनले दाबी गरे ।  विधार्थीहरुको सर्वाङ्गीण विकासमा सबैले ध्यान दिनुपर्ने बताउँदै उनले भने, ‘धोकन्ते विद्या र पठनपाठनले मात्र विधार्थीको समुचित विकास हुन सक्दैन् ।’

कार्यक्रममा बोल्ने वक्ताहरुले खेलाडीहरु देशकै गहना भएकाले खेलाडीको चौतर्फी विकासका लागि सबैले आवश्यक पहल कदमी लिनुपर्नेमा जोड दिएका थिए ।

प्रतियोगिता मंसिर २९ गतेसम्म संचालन हुने नगरपालिका शिक्षा तथा खेलकुद शाखा प्रमुख कृष्ण प्रसाद भट्टराईले जानकारी दिए ।

सोही कार्यक्रममा नगरपालिकाले उसुका खेलाडी विराज सुनारलाई नगदसहित सम्मान गरेको छ ।

सम्बन्धित् समाचार