रूपन्देही ।
कुनै समय थियो लुम्बिनीमा वार्षिक १६ लाख हाराहारीमा पर्यटक घुम्न आउँथे । तर कोभिड-१९ महामारीपछि घटेको पर्यटकको संख्या पुरानो लयमा फर्किन सकेको छैन ।
मौसम अनुकूल हुने भएकाले कात्तिक, मंसिर र पुसमा लुम्बिनी घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक यो समयमा अत्यधिक हुन्छन् । लुम्बिनी आसपासका नेपाल र भारतका जिल्लाहरूबाट विद्यालयले विद्यार्थीलाई अवलोकन भ्रमण पनि यही समयमा गराउनाले लुम्बिनीमा पर्यटकको चाप बढ्ने गर्छ ।
लुम्बिनी विकास कोषले पनि लुम्बिनीमा अहिले आध्यात्मिक क्रियाकलाप बढाएको छ । आठ वर्षदेखि भारतमा हुँदै आएको सबैभन्दा ठूलो शाक्य मोन्लम पनि यहीँ चलिरहेको छ । यसले धार्मिक पर्यटक बढाएको छ । बिहानैदेखि गुन्जिने बुद्ध पाठहरूले यहाँको वातावरण आल्हादित बनाएको छ ।
पर्यटकको संख्या नबढ्ने, आएका पनि उसै दिन फर्किने गर्दा व्यावसायिक गतिविधि सुस्त हुँदा यहाँका १० वटा होटल बन्द भइसकेका छन् । बचेका ८२ वटा होटलमा भएको करिब २५ अर्ब बढी लगानी समेत जोखिममा छ । यसबीच आध्यात्मिक गतिविधि बढ्दा पर्यटकको बसाइँ अवधि पनि लम्बिन थालेपछि व्यवसायी उत्साहित छन् ।
कोभिडअघि सन् २०१९ मा लुम्बिनीमा १५ लाख ५८ हजार ३२६ पर्यटक आएको तथ्यांक छ । अहिलेसम्म लुम्बिनी आएका पर्यटकको सबैभन्दा बढी संख्या यही हो । जसमा झन्डै १२ लाख आन्तरिक पर्यटक थिए । त्यस वर्ष भारतका दुई लाख ६ हजार र तेस्रो मुलुकका एक लाख ७४ हजार पर्यटक आएका थिए ।
कोरोनापछि ओरालो लागेको लुम्बिनीको पर्यटन विस्तारै तंग्रिँदै छ । सन् २०२३ मा आन्तरिक ६ लाख ५६ हजार, भारतीय दुई लाख ६६ हजार र तेस्रो मुलुकका ७६ हजार दुई सय पर्यटक लुम्बिनी आए । यो वर्ष एक महिना बाँकी छँदै यो संख्या नौ लाख नाघिसकेको छ । अहिले दैनिक सरदर पाँच हजार पर्यटक लुम्बिनी आइरहेका छन् ।