बुटवलमा नयाँ पर्यटन गन्तव्य थपिएको छ — देउराली डाँडालाई पाल्पाको नुवाकोटगढीसँग जोड्ने सिद्धार्थ केबलकार।
एक अर्ब रूपैयाँभन्दा बढी लगानीमा निर्माण गरिएको यो केबलकार चढ्न पर्यटकहरूको दैनिक भिड लाग्ने गरेको छ। औपचारिक उद्घाटन भने भएको छैन।
व्यवस्थापक मनोज भुसालका अनुसार गएको दसैंबाट अनौपचारिक रूपमा सञ्चालन गरिएको यो केबलकार चढ्न दैनिक हजार जनाभन्दा बढी पर्यटक आउँछन्। सार्वजनिक बिदाको दिन एकदमै भिड लाग्ने भएकाले अघिल्लो दिन नै टिकट काट्नुपर्छ।
टिकट दर एक जनाको ३ सय ५० रूपैयाँ छ।
‘गएको भदौ २१ गते तीजको दिन हामीले परीक्षणका रूपमा केबलकार सञ्चालन गरेका थियौं। त्यसपछि दसैंदेखि यात्रुहरूका लागि खुला गर्यौं,’ उनले भने, ‘दसैंबाट अहिलेसम्म ८० हजारभन्दा बढीले केबलकार चढिसकेका छन्।’
सिद्धार्थ केबलकार बुटवल उपमहानगरपालिकाका १ र २ नम्बर वडाको सिमानामा पर्ने देउराली डाँडाबाट सुरू हुन्छ। त्यहाँ पर्यटकका लागि विश्व मानचित्र सहितको वाटर फाउन्टेन, ढुंगेधारा लगायतका आकर्षण छन्।
सिद्धार्थ गौतमले जन्मिनेबित्तिकै चालेको भनिएका सात पाइलाको प्रतीकका रूपमा कमलको फूल आकृतिको लोटस पार्क पनि निर्माण गरिएको छ। सिद्धार्थ गौतमका ६ वटा पाइला देउराली डाँडा स्टेसनमा र सातौं पाइलासहित ५० फिट अग्लो बुद्धको मूर्ति सबभन्दा माथिल्लो नुवाकोटगढी स्टेसनमा निर्माण गरिएको छ।








