गृहपृष्ठ Featured पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व

पत्रकार महासंघमा पहिलोपटक महिला नेतृत्व

नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा विजयी भएकी छन्। मतगणना सकिएपछि आइतबार राति शर्मा अध्यक्ष निर्वाचित भएको औपचारिक घोषणा गरिएको हो।

शर्मा कांग्रेस र एमालेनिकट प्रेस युनियन र प्रेस चौतारीको गठबन्धनको साझा उम्मेदवार हुन्। अध्यक्ष पदका लागि युनियनकै रमेश विष्टले वागी उम्मेदवारी दिएका थिए। उनलाई नेकपा (माओवादी केन्द्र)निकट प्रेस सेन्टरसहित विभिन्न ६ संगठनले समर्थन गरेका थिए।

अध्यक्षकै लागि शर्मा र विष्टसँगै देवीप्रसाद सापकोटा र लालसिंह लामाले पनि उम्मेदवारी दिएका थिए।

आइतबार राति सार्वजनिक भएको मतपरिणामअनुसार अध्यक्षमा निर्वाचित निर्मला शर्माले ४ हजार २८२ मत प्राप्त गरी विजयी भइन्। विष्टले ३ हजार २०३, सापकोटाले २७० र लामाले ९६ मत ल्याए।

शर्मा नेपाल पत्रकार महासंघमा पहिलो महिला अध्यक्ष हुन्।

महासंघको पदाधिकारीमा कोषाध्यक्षबाहेक सबै युनियन र चौतारीको गठबन्धनका उम्मेदवारले जितेका छन्।

वरिष्ट उपाध्यक्षमा दीपक आचार्य ४ हजार २३० मत ल्याएर विजयी भए। रोसन पुरीले २ हजार ८८६ मत ल्याँदा गोविन्दप्रसाद चौलागाइँले ५४८ मत ल्याए।

महिला उपाध्यक्षमा नितु पण्डित ४ हजार ७०५ मत ल्याएर विजयी हुँदा गंगा पौडेलले २ हजार ६४४ मत ल्याइन्।

समावेशीतर्फको उपाध्यक्षमा उमिदप्रसाद बागचन्द ४ हजथार २९२ मत ल्याएर विजयी भए।

महासचिवमा रामप्रसाद दाहाल ४ हजार ८४ मत ल्याएर विजयी भए। लेखनाथ न्यौपानेले १ हजार ९२९, जन्मदेव जैसीले १ हजार १५८, प्रकाश थापाले ४८८  मत ल्याए।

कोषाध्यक्षमा प्रेस सेन्टरका रामकृष्ण अधिकारी विजयी भए। उनले ३ हजार ८४७ मत ल्याउँदा रामकृष्ण ज्ञवाली ३ हजार ४६४ मत पाएका थिए।

अरू सबै पदाधिकारीमा युनियन र सेन्टरको गठबन्धनका उम्मेदवार विजयी भएका छन्।

अध्यक्षसहित विभिन्न पदमा १२४ को उम्मेदवारी परेकोमा ५२ जना निर्वाचित भएका छन्। यीमध्ये ३ पद निर्विरोध हुँदा ४९ पदमा मंसिर २८ गते भएको चुनावबाट निर्वाचित भएका हुन्।

सम्बन्धित् समाचार