गुल्मीको कालीगण्डकी गाउँपालिकाका अध्यक्ष वेदबहादुर थापाले जिल्ला प्रशासन कार्यालय (सीडीओ कार्यालय) तोडफोड गरेका छन् । आफूले तोडफोड गरेको स्वीकार्दै थापाले पालिकाका सेवाग्राहीले सेवा नपाएपछि त्यसो गरेको प्रतिक्रिया दिएका छन् ।
आफ्नो पालिकाका नागरिकले सहजै सेवा नपाएको भन्दै थापाले बिहीबार प्रशासन कार्यालयको राहदानी शाखामा तोडफोड गरेका हुन् । उनले शाखाको स्क्यानर मेसिन फोडेको कार्यालयले जनाएको छ ।
स्क्यानर फुटेपछि राहदानीसम्बन्धी सेवा नै ठप्प भएको छ । राहदानी शाखाका कम्प्युटर अपरेटर सन्देश अधिकारीले शुक्रबार पनि राहदानीको काम नहुने बताए ।
तोडफोडपछि अध्यक्ष मगरलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । उनी हिजै साँझ छुटेका छन् । लिखित आत्मालोचनासहित क्षतिपूर्ति दिने सहमतिपछि उनलाई छोडिएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए । टोकन प्रणालीमा राहदानी वितरण व्यवस्थित भए पनि गाउँपालिका अध्यक्षले आवेगमा तोडफोड गरेको उनको भनाइ छ ।
अध्यक्ष थापामगरले भने टाढाबाट आएका नागरिकलाई सेवा दिन आग्रह गर्दा कर्मचारीले अस्वीकार गरेपछि सामग्री फुटाएको बताए ।








